मधेश

वृन्दावनमा एम्बुलेन्सदेखि ट्याङकरसम्म कबाडमा परिणत हुँदै

इकागज |
माघ १३, २०८० शनिबार ९:१३ बजे

फाइल तस्बिर

रौतहट- जिल्लाको वृन्दावन नगरपालिकाको सवारी साधन पछिल्लो समय कबाडमा परिणत हुन थालेको छ ।

सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्‌वाइलेट साफ गर्ने ट्रयाक्टर र ट्याङसमेत कबाड बनेको हो ।


नगर प्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारी साधन कबाड बनेपछि स्थानीयले आक्रोश बन्‍न थालेका छन् । आम सर्वसाधारणको काममा प्रयोग हुने संवेदनशील सवारी मानिएका एम्बुलेन्ससमेत चार महिनादेखि ड्राइभरको घरमा कबाड अवस्थामा थन्किएको छ ।

सो नगरपालिकामा चार वटा एम्बुलेन्स सञ्चालनमा रहेको र हाल दुई वटा एम्बुलेन्स चालु अवस्थामा मात्र रहेको छ । सो नगरपालिकाको वडा नम्बर १, ४, ७ र ८ मा एम्बुलेन्स रहेको छ । जसमध्ये वडा नम्बर १ र ४ को एम्बुलेन्स कबाड नै बनेको हो ।

यता जनतालाई लाभ हुने ट्‌वाइलेट साफ गर्ने सेफ्टी टयाङकर ७ महिनादेखि वीरगञ्जको एक ग्यारेजमा अलपत्र परेको छ ।

पूर्व नगर प्रमुख राम स्नेही यादवको पालादेखि सस्तो रेटमा आम सर्वसाधारणको ट्‌वाइलेट सरसफाई गर्दै आएको थियो । तर गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा विनोदप्रसाद कुर्मी निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको र आम सर्वसाधारणको एम्बुलेन्सदेखि ट्‌वाइलेट साफ गर्ने ट्याङ्कीसमेत प्रयोगविहीन बनाएको जनमत पार्टीका नगरप्रमुख प्रत्याशी दयाराम पटेलले बताए ।

नगर प्रमुख कुर्मी आफू अनुकूल हाकिम मात्र ल्याउन खोजेपछि नगरपालिकाको अवस्था दयनीय नै भएको उनले आरोप समेत लगाए ।

लामो समयदेखि एम्बुलेन्स र ट्‌वाइलेट साफ गर्ने ट्याङ्कर प्रयोगविहीन बनेपछि आम सर्वसाधारणले चर्को शुल्क तिरेर बाहिरबाट एम्बुलेन्स र ट्‌वाइलेट साफ गर्ने ट्याङ्कर ल्याएर काम चलाउनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका-१ का पूर्व वडाध्यक्ष सुबोध पटेलको भनाइ रहेको छ । यता पालिकाले दिँदै आएको सेवा बन्द भएपछि आम सर्वसाधारण पनि आक्रोसित बन्दै जान थालेका छन् ।

पालिकामा सवारी कसरी कबाड बन्यो भन्ने बिषयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जयकुमार पटेलसँग बुझ्दा आफू भर्खरै आएको हुनाले सो बिषयमा आफुलाई केही जानकारी नभएको बताएका छन् । सो बिषयमा आफू पनि पालिकामा गएर बुझ्ने अधिकृत पटेलले बताए ।

यता स्थानीयले नगरपालिकाको जिन्सी शाखाका चरम लापरबाहीका कारण सो एम्बुलेन्सदेखि ट्याङकरसम्म कबाड बनेको बताएका हुन् । तर नगरपालिका स्रोतबाट बुझ्दा सो पलिकामा असार यता जिन्सीको जिम्मा कसैलाई तोकिएको छैन ।


Author

थप समाचार
x