मधेश

प्रदेश २

मुख्‍यमन्‍त्रीमा राउतले निरन्‍तरता पाउने, आजै मन्‍त्रिपरिषद्‍ पुनर्गठनको तयारी

सुभाष कर्ण |
जेठ २४, २०७८ सोमबार १५:५३ बजे

जनकपुरधाम: प्रदेश २ मा मुख्‍यमन्‍त्री लालबाबु राउत नेतृत्‍वको सरकारले नै निरन्‍तरता पाउने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर समूहका मन्त्रीहरूलाई बर्खास्तगरी नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन लागेको हो ।  कांग्रेस र माओवादी संसदीय दलका नेताले पनि आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन् ।

सत्तारुढ जनता समाजवादी पार्टीमा देखिएको किचलोका कारण मुख्‍मन्‍त्री राउतले आइतबार ठाकुर समूहका चार मन्‍त्रीलाई बर्खास्‍त गरेका थिए । ठाकुर समूह प्रधानमन्त्री ओली नेतृत्वको संघीय सरकारमा सहभागी भएपछि जसपामा विवाद चुलिएको हो । आइतबार जसपा प्रदेश २ संसदीय दलको नेतामा राउतलाई नै चयन गरिएको थियो ।  


आजै रातिसम्‍म मन्‍त्रिपरिषद्‍ पुनर्गठन हुने बताइएको छ । मन्‍त्रिपरिषद्‍ पुनर्गठन गर्न जसपाको यादव पक्षले कांग्रेस र माओवादीसँग रणनीतिक छलफल सुरु गरेको छ । मन्‍त्रिपरिषद् पुनर्गठनको तयारी दुई दिनअघि नै गरे पनि दलहरूबीच सहमति हुन नसक्‍दा ढिलाइ भइरहेको थियो । कांग्रेसले मुख्‍मन्‍त्री दाबी गरेपछि पुनर्गठनमा ढिलाइ भएको हो । अन्ततः मुख्यमन्त्री पदको अडानमा कांग्रेस लचिलो भएपछि वर्तमान सरकारले नै निरन्‍तरता पाउने भएको हो । 

कांग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले सरकारमा सहभागी हुने पक्कापक्की भइसकेको बताए । मुख्यमन्त्री पदमा आफूहरूको दाबी कायमै रहेको बताए । तर, 'पावर शेयरिङ'को आधारमा जसपा सहमत भए आफूहरू सरकारमा सहभागी हुने उनले बताए । 'मुख्यमन्त्री पदमा अडान हाम्रो कायमै रहेको छ, यादवले इकागजसँग भने, तर मुख्यमन्त्री नपाए पनि पावर शेयरिङको आधारमा जसपा सहमत भयो भने हामी सरकारमा सहभागी हुनेछौं ।'

कांग्रेसले कुन-कुन मन्त्रालय पाउँदैछ भन्‍ने जिज्ञासामा नेता यादवले अहिले नै मन्‍त्रालयको टुंगो लागि नसकेको बताए । 'भौतिक पूर्वाधार विकास मन्त्रालय  खाली छ,' उनले भने, 'विद्यमान मन्त्रालयबाट टुक्रयाएर नयाँ मन्त्रालय कुन-कुन दिने भन्ने विषय अहिले टुंगो लागेको छैन । कुन-कुन मन्त्रालय दिने भन्ने बारे अन्तिम चरणमा छ।'

स्रोतका अनुसार कांग्रेसलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नयाँ थपिने वन तथा वातारण, शिक्षा, स्वास्थ्य, सहकारी मन्त्रालयबाट स्वास्थ्य र सहकारी मन्त्रालयसहित अन्य ४ वटा राज्यमन्त्री दिने गरी तयारी रहेको छ । माओवादी केन्द्रलाई सहकारी र शिक्षासहित दुई मन्त्रालय र दुई राज्यमन्त्री दिने तयारी मुख्यमन्त्री राउतको छ ।

माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरत साहले केन्द्रीय समीकरणअनुसार आफूहरू सरकारमा सहभागी हुन लागेको बताए । प्रदेश सरकारलाई सहयोग गर्नेगरी आफूहरू सरकारमा सहभागी हुन लागेको उनले बताए । मन्‍त्रालयबारे भने अहिलेसम्‍म टुंगो लागिनसकेको उनको भनाइ छ । 'केन्द्रीय समीकरणअनुसार हामी पनि प्रदेश सरकारलाई सहयोग गर्ने गरी सहभागी हुनेछौं उनले भने, 'तर कुन-कुन मन्त्रालय दिने अहिलेसम्म टुंगो लागेको छैन, आज साँझ हुने बैठकबाट निर्णय हुनेछ ।'

ठाकुर समूहका वर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई भने निरन्‍तरता दिइने भएको छ । सरकारलाई सहयोग गरेकोले उनीहरूको मन्त्रालयमा कुनै हेरफेर नगर्ने राउतको तयारी छ । ठाकुर समूहबाट आएका अन्य तीन जना प्रदेश सभा सदस्यलाई समेत राज्यमन्त्री दिने आश्वास दिएपछि उनीहरू यादव समूहलाई समर्थन गर्न लागेका हुन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x