मधेश

तोकिएकै समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री पौडेल

माधुरी महतो |
पुस १५, २०७७ बुधबार १८:२८ बजे

वीरगन्ज : अर्थमन्त्री तथा नेकपा ओली समूहका महासचिव बिष्णु पौडेलले आगामी बैशाखमै निर्वाचन हुने दाबी गरेका छन् । वीरगन्जमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका हुन् । तोकिएकै समयमा निर्वाचन हुने निश्चित भएकाले शंका नगरी निर्वाचननको तयारीमा जुट्न उनले नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए । 

आन्तरिक विवादका कारण अपेक्षित विकास हुन नसकेको स्वीकार गर्दै अर्थमन्त्री पौडेलले मुलुकलाई स्थायित्व प्रदान गर्न ताजा जनादेशमा जान आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव पेशगरी पार्टी र सत्ता कब्जा गर्न खोजेको षड्यन्त्र पर्दाफास भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनले बताए ।


भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री तथा प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रचण्डको निजी स्वार्थका कारण माओवादीको अस्तित्व संकटमा परेको बताए । बैशाखमा हुने निर्वाचनबाट फेरि केपी ओलीकै नेतृत्वमा बहुमतको सरकार बन्ने निश्चित भएको उनले दाबी गरे ।  त्यस्तै नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले दाहाल–नेपालकै देश भुमरीमा फसेको आरोप लगाए । नेकपाका नेता कार्यकर्ताले सच्चा कम्युनिष्ट नेताको पहिचान गरिसकेकाले अबको निर्वाचनमा पुन: केपी ओलीकै नेतृत्वमा सरकार बन्ने दाबी उनले पनि गरे ।  

नेकपा ओली समूहले बुधबार वीरगन्जमा विरोध प्रदर्शन तथा भेलाको आयोजना गरेको थियो ।  वीरगन्जमा भएको कार्यक्रममा प्रदेश २ का आठ जिल्लाका नेता–कार्यकर्ताको सहभागिता थियो । 


Author

थप समाचार
x