मधेश

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

माधुरी महतो |
चैत ४, २०७७ बुधबार १२:२० बजे

फाइल तस्‍वीर

वीरगञ्‍ज : पर्साको ग्रामीण भेगबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी भइरहेको स्थानीयले बताएका छन् । भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालको तुलनामा महँगो भएका कारण सीमावर्ती क्षेत्रमा दिनहुँ नेपालबाट पेट्रोल र डिजेलको तस्करी भइरहेको एक स्थानीयले बताए । नेपालभन्दा भारतमा पेट्रोल र  डिजलको मुल्य ३० रुपैयाँभन्दा बढी महँगो छ ।

नेपालको इन्धन सस्तो भएकाले भारतीय सवारी साधनहरूले रक्सौलसम्म पुग्नेगरी इन्धन आफ्नो सवारी साधनमा राख्ने गरेका छन् । भारत प्रवेश गर्ने बेलामा ट्यांकी भरेर जाने गरेको प्रत्यक्षदर्सी बताउँछन् । 


पर्साको वीरगन्जलगायत जानकीटोला, भिस्वा, दसौता, पाँडेपुर, महादेवपट्टी, सुवर्णपुर, विजयबस्तीलगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी हुँदै आएको छ । त्यहाँबाट भारतीय बजार घुमाटार, भङ्गाहा, इनर्वा, मैनाटार र सिकटासम्म तस्करीमार्फत पेट्रोल र डिजेल जाने गरेको स्थानीयवासीको भनाइ छ ।  

नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुन थालेपछि नेपालतर्फका सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमबाट ग्रामीण क्षेत्रमा पर्याप्तरूपमा पेट्रोलियम पदार्थ पूर्ववत रूपमा आपूर्ति हुँदै आए पनि अहिले तस्करीका कारण ग्रामीण क्षेत्रलगायत सहर बजारका केही पेट्रोलपम्पमा समेत सेवाग्राहीले पेट्रोल र डिजेल नपाउने गरेको गुनासो छ । 

यसले नेपालतर्फका सेवाग्राहीलाई समस्या भइरहेको  छ । मोटरसाइकल, ट्याक्टर र कृषिजन्य कामको लागि पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा समस्या भोग्नु परेको पर्साको सेढवाका स्थानीय नेसार समानीले गुनासो गरे । 

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने ग्रामीण भेगका पेट्रोल पम्पहरूमा कालोबजारी भएको सूचना आएपछि निरन्तर अनुगमन गर्नुका साथै कारबाही समेत गरिएको बताए । तस्करी बढेको जानकारी आउनासाथ केही पेट्रोलपम्पलाई करबाही समेत गरिएको नेपाल आयल निगम लिमिटेडका उपनिर्देशक एव् प्रवक्‍ता विनित मणी उपाध्यायले बताए ।
 


Author

थप समाचार
x