बागमती

स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप : आज बिएफसी र चर्च ब्वाइज भिड्दै

सरिता दाहाल |
जेठ २०, २०७९ शुक्रबार ९:१० बजे

मकवानपुर- मकवानपुरको हेटौंडामा जारी चौँथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आज बिएफसी क्लब चितवन र चर्च ब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्दै छन् । 

मकवानपुरको हेटौंडा ५ को पिप्ले–क्याम्पा रंगशालामा हुने खेल दिउँसो ३:०० बजे सुरू हुनेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा विदेशी टिम एभिनियर एफसीसँग सामना गर्नेछ । हिजोको खेलमा विजयी हुँदै बारा जिल्ला सिमराको नव जनजागृति क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । 


३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् । 

प्रतियोगितामा विभागीय क्लबहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्‌दी  क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ । 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कारर राशी वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए । 

अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।


Author

थप समाचार
x