बागमती

मतदाता नामावली दर्ता गर्ने बिहान ६ बजेदेखि नै लाइन

सरिता दाहाल |
असार ७, २०७९ मंगलबार ११:६ बजे

मकवानपुर- गत २५ माघबाट स्थगित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य १ असारबाट पुन सुरू गरिएपछि दर्ता गर्नेहरूको भिड लागेको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को मिति घोषणा भएपछि दर्ता प्रक्रिया स्थगित गरिएको थियो । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई दृष्टिगत गरि १ असारबाट दर्ता तथा अद्यावधिक कार्य सुरू गरिएको छ ।


आगामी चुनाव लक्ष्यित मतदाताहरू दर्ताको लागि भिड लागेका हुन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाले सेवाग्राहीको चाप बढि भएसँगै टोकन प्रणालीबाट दर्ता कार्यलाई व्यवस्थित गर्दै आएको छ ।

दर्ताको लागि बिहान ६ बजेबाटै लाइन बस्‍न थालेपछि कार्यालयले ९ बजे टोकन बाँड्‌ने र टोकन नपाएकाहरूलाई समयमै घर फर्केर अर्को दिन आउन अनुरोध गर्ने गरेको छ । 'बिहानै टोकन दिएपछि नपाउनेहरू घर फर्किउन भनेर यसो गरेका हौँ' प्रदेश निर्वाचन कार्यालय बागमतीका कार्यालय प्रमुख लुम्बनाथ पोखरेलले भने । आफ्नो पालो कुरेर दिनभर घाम/पानीमा लाइन बस्‍न नपरोस् भनेर यसो गरेको उनले बताए ।

कार्यालयले दैनिक १५० वटा टोकन बाँड्ने गरेको पोखरेलले बताए । सोमबार साँझसम्म ७९८ जनाले फोटोसहितको मतदाता नामावलीको लागि विवरणसहित फोटो खिचाएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका कम्प्युटर अपरेटर दिपेन्द्रराज बरालले बताए । 'चाप एकदम धेरै छ, कुनै दिन २ सयसम्मको विवरण लिन्छौँ' बरालले भने । बिहान ९ देखि साँझ ७ बजेसम्म आफूहरू कार्यालय बसेर विवरण संकलन गरेको उनले बताए ।

कार्यलयले नयाँ दर्तासँगै अद्यावधिक गर्ने काम पनि जारी राखिएको छ । यस अन्तरगत दोहोरो नामावली रहेका, मतदाता नामावलीमा त्रुटि भएका, बसाइँसराइको कारण स्थान परिवर्तन गर्नुपर्नेहरूले अद्यावधिक गर्न सक्नेछन् । कार्यालयको सूचना शाखा प्रमुख सम्झना ढकालका अनुसार १ असारदेखि हिजो सोमबार साँझसम्म १३८ जनाले विवरण अद्यावधिक गराएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गत २०७८ माघ २५ देखि हालसम्म नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ अनुसार योग्यता पुगेर नाम दर्ता गर्न छुटेकाको फोटोसहित विवरण संकलन गर्न सकिने छ । यो कार्य आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सार्वजनिक नहुन्जेल जारी रहने छ ।


Author

थप समाचार
x