बागमती

मेयरद्वारा नगर विकास कोषमा सपथ

सरिता दाहाल |
साउन १०, २०७९ मंगलबार २०:४४ बजे

फाइल तस्बिर

मकवानपुर- सन् १९८९ मा विश्व बैंकको २ दशमलव २ मिलियन अमेरिकी डलर सहयोग प्राप्तिसँगै सुरू गरिएको नगर विकास कोषमा आगामी विकासका लागि आफूले सक्दो प्रयास गर्ने हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बताएकी छिन् । 

नगर विकास कोषले सहरी पूर्वाधार विकासमा वित्तीय लगानी प्रवाह गर्ने गर्दछ । नगर विकास कार्यक्रमका लागि १९९५ मा जर्मन विकास बैंकमार्फत् प्राप्त ४ दशमलव ५ मिलियन युरो सहयोगबाट नेपालको ३२ नगरपालिकाको पूर्वाधार विकासमा खर्च गरिएको थियो । 


प्रथम चरणको कार्यान्वयन सफल भएसँगै जर्मन विकास बैंकमार्फत् कोषलाई सहयोग निरन्तर भयो । सन् २००० मा नगर विकास कार्यक्रमको दोस्रो र २०१० मा तेस्रो चरणको योजना सञ्चालन भयो । आज काठमाडौँँमा भएको लामाले नगर विकास कोषको पहिलो बैठकमा सहभागिता भएसंगै आज काठमाडौँमा कार्यक्रममा लामाले सपथ लिएकी हुन् । 

नगर विकास कोष सञ्चालक समितिको २०३ औं बैठकमा उनी सहभागी भएकी हुन् । बैठकमा कोषका सञ्चालक समितिका सदस्यहरुको स्वागत तथा सपथग्रहण र निवर्तमान सदस्यहरुको बिदाइ गरिएको थियो । कोषको आव २०७९/८० को नीति कार्यक्रम तथा तयारी उपसमिति गठन गरिएको छ । 

कोषका सञ्चालकहरुमा पोखराका मेयर धनराज आचार्य, हेटौंडाकी मेयर लामा, सूर्योदय नगर इलामका मेयर रणबहादुर राई, लमही नगर दाङका मेयर जोगराज चौधरी, बौधीमाई नगर रौतहटका मेयर प्रदीपकुमार यादब, लम्कीचुहा नगर कैलालीकी मेयर सुशीला शाहीलगायत १४ जना छन् । 

सहरहरुलाई सुन्दर र सफा बनाउने योजनासहित करिब ३ दशकअघि परिकल्पना गरिएको नगर विकास कोष आफ्नै हिसाबले काम गरिरहेको छ । 

विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) लगायत दातृ निकायको सहयोग लिएर काम गर्दै आएको कोषले नगरपालिका क्षेत्रमा बसपार्क, उद्यान, व्यवस्थित बजार, प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवनलगायत १ हजार २ सयभन्दा बढी आयोजना लगानी गरेको छ । कोषले नेपाल सरकार, विश्व बैंक, एडीबी, जर्मन विकास बैंक, जीआईजेड, युएनसीडीएफ, ईयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तीय तथा प्राविधिक सहयोग परिचालन गरिरहेको छ । 

मुलुक संघीयतामा गएपछि स्थानीय तहहरु स्वायत्त र बलिया भएका छन् । नगर विकास कोष भने आफ्नै शैलीमा काम गरिरहेको छ । दीगो सहरी पूर्वाधार र सेवा प्रवाहको सुनिश्चिताका लागि ऋण परिचालनको विधिबाट संरचनाहरु निर्माण गरिनुपर्छ भन्ने मूल मर्मका साथ २०४५ फागुन २ गते नगर विकास कोष स्थापना भएको हो । पहिले समितिको रुपमा स्थापना भएकोमा २०५३ सालमा नगर विकास कोष ऐनद्वारा स्वायत्त संस्था नगर विकास कोषको रुप दिईएको थियो । 

नेपाल सरकारको करिब १ करोड २९ लाख इक्विटी सेयरबाट थालनी भएको कोषले हाल नगरपालिका र साना सहरमा सहरी पूर्वाधार र सामाजिक पूर्वाधारका आयोजनाहरुमा आफ्नो सेवा विस्तार गर्दै कुल पुँजी करिब ५ दशमलव ८ अर्ब पुर्‍याएको छ । सहरी विकासका बहुआयामिक पक्षलाई समेटी एकीकृत सहरी पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय उपकरण सम्वर्द्धन तथा प्रवर्द्धन र सहरी विकासमा आबद्ध संस्थाको क्षमता विकासका कार्य गर्दै आएको छ । 

कोषले हालसम्म सहरी पूर्वाधारका रुपमा बसपार्क, व्यावसायिक भवन, नगरपालिका भवन, स्कुल भवन, मनोरञ्जन पार्क, फोहरमैला व्यवस्थापन, ढल व्यवस्थापनलगायत आयोजनामा ९ अर्ब ६१ करोड ऋण तथा २ अर्ब २९ करोड अनुदान लगानी गरिसकेको छ । 

आयोजनाको प्राविधिक, वित्तीय, संस्थागत, वातावरणीय, कानुनीलगायत पक्षहरुको विश्लेषण गरेर कोषले आयआर्जन हुने खालका आयोजनामा आयोजना लागतको ९० प्रतिशतसम्म लगानी गर्छ । नगर विकास कोष भनेको नगरपालिकाहरुको प्राविधिक र आर्थिक सल्लाहकार हो । नगरपालिकाहरुको पूर्वाधार विकासमा वित्तीय लगानीका लागि कोष आर्थिक र प्राविधिक रुपमा सक्षम छ ।


Author

थप समाचार
x