बागमती

एमालेसंगको गठबन्धन टुट्नुमा ओली जिम्मेवार : मुख्यमन्त्री जम्कट्टेल

इकागज |
फागुन २८, २०७९ आइतबार २२:१९ बजे

फाइल फोटो

मकवानपुर - बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेकपा एमालेसंगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको आरोप लगाएका छन । शनिबार हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशील स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै जम्कट्टेलले यस्तो बताएका हुन् ।    

ुशान्तिप्रक्रिया टुंगोमा पुर्‍याउने मुद्दा ओलीले वास्ता नगरेको कारण गठबन्धनमा सम्बन्ध चिसिएको हो उनले भने 'बाहिर हेर्दा राष्ट्रपति पदको मात्र मुद्दा जस्तो देखिएपनि भित्रीरुपमा शान्तिप्रक्रियाको बिषयमा कुरा नमिलेकोले गठबन्धन टुटेको हो।'


कर्मचारी संगठनहरुले बिषय र योजना बनाउदा करार र अस्थायी कर्मचारीहरुको पनि हकहितको बिषय समेट्न उनले आग्रह गरे । उनले तल्लो दर्जाको कर्मचारीको हकहितको बिषयमा पनि गम्भीर बन्न सुझाए । कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको बिषयहरुमा सुझाव दिन समेत उनले कर्मचारीहरुलाई नै आग्रह गरे । 'कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लागि पर्नुपर्छ', उनले भने । 

कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले बागमती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समूहमा लगानी गर्ने बताए । विगतमा प्रदेश सरकारले गरेको लगानीले जनजीवनमा प्रभाव परेको नदेखिएकोले यसपटक भने समूह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उनले बताए । 

प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धिमुलक कार्य गर्नको लागि ठूला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास गर्ने योजना रहेको उनले बताए । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुर अध्यक्ष राजु अर्यालको अध्यक्षता भएको कार्यक्रममा सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय अध्यक्ष हरीबहादुर रावल, केन्द्रीय सदस्य बसन्तराज गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


Author

थप समाचार
x