बागमती

बागमती प्रदेश सभाको बैठक आज पनि अवरुद्ध

इकागज |
असार १७, २०८० आइतबार १६:४६ बजे

मकवानपुर- बागमती प्रदेश सभाको बैठक आज (आइतबार) पनि अवरुद्ध भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको बैठक आज पनि अवरुद्ध गरिएको हो ।

यसअघि गत असार १२ गते ३ पटक बैठक अवरुद्ध भएको थियो । आज बजेटको विषयमा बागमती प्रदेशसभा बैठकमा नाराबाजी भएको छ । जनविरोधी बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्यहरूले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।


बैठकको प्रारम्भमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले धारणा व्यक्त गरेपछि विपक्षको नाराबाजीसँगै बैठक स्थगित भएको हो ।

अर्को बैठक आजै साँझ ५ बजेलाई बोलाइएको सभामुख भुवनकुमार पाठकले बताए । नेमकिपाका सांसद सुरेन्द्रराज गुसाई बोलेर अर्का सत्तापक्षका सांसद मायादेवी शर्मा बोल्न खोज्दा संसद अवरोध गरिएको थियो । 

गत १२ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएपछि आजको बैठक बोलाइएको थियो ।

प्रदेश सरकारले बजेटलाई समावेशी ढंगबाट वितरण नगरेको, हुँदै नभएको वडामा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएको लगायतको विषयको कारण प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले बैठक अवरुद्ध गर्दै आएको छ ।

बजेटमा संशोधन नगरी पास गर्न नदिने पक्षमा प्रमुख प्रतिपक्ष दल रहेको नेता जगन्नाथ थपलियाले बताए । एमालेलाई समर्थन गर्दै अन्य दलहरूले पनि बैठक अवरुद्ध गर्दै आएका छन् । बजेटको विरोधमा आज नेमकिपा थपिएको हो ।


Author

थप समाचार
x