बागमती

न्वागी मनाउन धादिङमा एक हजार चेपाङ भेला हुँदै

इकागज |
भदौ २१, २०८० बिहीबार १०:४५ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेशको धादिङ गजुरी गाउँपालिका- ५ च्याङली भन्ने गाउँमा यतिबेला रौनक फेरिएको छ । २२  भदौ नजिकिँदै गर्दा यहाँको रौनक उल्लाषमय बन्दैछ । २२ भदौ अर्थात चेपाङ समुदायको खास पर्व न्वागी मनाउने दिन ।

हरेक वर्ष सामुहिक रुपमा न्वागी पर्व मनाउँदै आएका चेपाङ समुदायले यो वर्ष गजुरी-५ च्याङलीमा सामुहिक पर्व मनाउने तयारी थालेको छ । पर्व मनाउनको लागि सम्बन्धित गाउँपालिले व्यावस्थापनको जिम्मेवारी लिएको छ । चेपाङ केन्द्रीय समितिले आयोजनाको अन्य पाटो हेर्ने तयारी भएको छ । कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागी हुनेछन् । 


पर्व मनाउनको लागि अहिले भोज र पूजा सामाग्रीको जोहोमा लागेका छन् उनीहरू । सामुहिक भोजमा मासु भात खुवाइने बताइएको छ । यसको लागि चामल, राँगो, सुंगुरको तयारी भएको छ । पूजाको लागि फलफूलमा काँक्रो, अमिलो गाभा मकैलगायतको तयारी हुँदैछ । 

उनका अनुसार पूजामा कम्तिमा ७ जना झाँक्री (पाण्दे) पुरेतको पनि व्यवस्था हुँदैछ । सामुहिक पूजामा सहभागी प्राय सबैले ढ्याङग्रो ठोक्ने चेपाङ अगुवा तथा पूर्व सभासद गोविन्दराम चेपाङले बताए । उनका अनुसार पर्व मनाउनकै लागि ६ वटा जिल्लाबाट कम्तिमा एक हजार जना चेपाङको उपस्थिति रहने छ । चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए ।

चेपाङ समुदायमा मनाइने सबैभन्दा प्रमुख पर्व छोनाम न्वागी भदौ २२ गते मनाइँदै छ । हरेक वर्ष भदौ २२ गते मनाइने न्वागि पर्व चेपाङहरूको विशेष पर्वको रुपमा लिइन्छ । नयाँ अन्नबाली,फलफूल पाकेपछि विशेष पूजा गर्दै यो पर्व मनाइन्छ । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यो दिन चेपाङहरूले घैया धानको चामल, पिँडालु, निबुवालगायत फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।

आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरूले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि यो पर्वको विशेष महत्व दिने गरेको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए । 

गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरूले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरूका अलावा अन्य मानिसहरू भने सांस्कृतिक नाच र गीतहरू प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरूले कुखुराका बली समेत दिने गर्छन् ।

२२ गते दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि भोलीपल्ट विहान ‘बारना’ गरेर चाड समापन गर्ने पूर्व सांसद चेपाङले बताए । मकवानपुर जिल्लामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै चेपाङको बसोबास रहेको छ ।

नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा रहेका चेपाङहरूले आफूहरूको सम्मानमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएकोमा गतवर्षबाट यो दिन बिदा दिन थालिएको हो । चेपाङ संघ केन्द्रीय समितिले २०६३ मा २२ बुँदे माग राख्दै न्वागि पर्वमा सरकारले देशभर सार्वजनिक बिदाको दिनुपर्ने माग गरेको थियो ।

जातिगत हिसाबले जिल्लामा १३ औँ स्थानमा चेपाङ जातिको बसोबास रहेको छ । अहिले नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६६ जना छ । यसैबीच यो पर्वको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाले भने २१ गते पनि सार्वजनिक बिदा दिएको छ ।


Author

थप समाचार
x