बागमती

बागमती सरकारले संविधान दिवस ३ दिनसम्म मनाउने

इकागज |
भदौ २७, २०८० बुधबार २०:८ बजे

मकवानपुर - बागमती प्रदेश सरकारले संविधान दिवस ३ दिनसम्म मनाउने भएको छ । २०८० मा संविधान दिवस विविध कार्यक्रम आयोजना गरी ३ दिन मनाइने आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेशमा संविधान दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नेतृत्वमा ४७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । दिवसको अवसरमा प्रदेशका सवै जिल्लामा स्वास्थ्य परीक्षण, वृक्षारोपण, विविधता झल्कने झाँकी, प्रभातफेरी लगायतका कार्यक्रम गरिने छ । प्रदेश स्वास्थ्य मन्त्रालयले असोज २ गते प्रदेशको १३ वटै जिल्लामा मधुमेह तथा रक्तचाप निःशुल्क परीक्षण शिविर र हेटौंडामा रक्तदान कार्यक्रम गर्ने छ । यसैगरी सोही दिन वन तथा वातावरण मन्त्रालयले १३ वटै जिल्लामा वृक्षरोपण गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए ।


यस्तै, असोज ३ गते हेटौंडाको बुद्ध चोकबाट बजार क्षेत्रमा प्रादेशिक विविधता झल्कने गरी झाँकीसहित बाजागाजा गर्ने, मार्चपास तथा प्रभातफेरी कार्यक्रमको आयोजना गरिने छ । यसैगरी, असोज ४ गते विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने उनले जानकारी दिए ।

असोज २, ३ र ४ गते प्रदेशका मन्त्रालय तथा अन्य कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, तीनै दिन सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गरिने छ भने सार्वजनिक निकाय र सार्वजनिक स्थलको हकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय झण्डा फहराइने उनले बताए ।


Author

थप समाचार
x