बागमती

काठमाडौँ महानगरपालिकाले खुला मञ्च बन्द गर्न पाउँदैन : प्रमुख जिल्ला अधिकारी बस्नेत

इकागज |
असोज १४, २०८० आइतबार १४:२४ बजे

काठमाडौँ- काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन् । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले विगतमा खुला मञ्चमा सबैले खुला रूपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रूपमा प्रयोगमा आउनु पर्ने जिकिर गरे । उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताए ।


उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरूले माइतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको उल्लेख गरे । उनले खुला मञ्चमा सुरक्षित रूपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माईतीघरदेखि बानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए । 

काठमाडौँ उपत्यकाका सडक सवारी साधन सञ्चालनका लागि मात्रै प्रयोग नभएको भन्दै सुरक्षाको हिसाबले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रूपमा सडक अवरुद्ध हुने गरेको उनकाे भनाइ छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन गर्नेहरूलाई सरकारले साइडमा हिँडाएर नियमन गर्न समेत नसकेको बताए । उनले प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको बताए । उनले देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरूलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गरे ।

विगत लामो समयदेखि प्रदर्शन, सभा पर्ने र भनाइहरू राख्ने ठाउँ खुला मञ्चको रूपमा प्रयोग भएको तर अहिले बन्द रहेको भन्दै खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रूपमा प्रयोगमा ल्याउन आवश्यक रहेको उनले बताए । उनले खुला मञ्चमा नेपाली जनता र प्रदर्शन गर्नेहरूले खुला मञ्चमा अभिव्यक्तिहरू राख्न पाउनुपर्ने बताए । उनले ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रूपमा प्रदर्शन गर्ने ठाउँ नभएर पनि भएको बताए ।

 


Author

थप समाचार
x