बागमती

माधव नेपालले भने : सुशासन र समृद्धिका लागि जागरण अभियान

इकागज |
असोज १९, २०८० शुक्रबार १९:४० बजे

मकवानपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन र समृद्धिका लागि जागरण अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्रा अन्तर्गत शुक्रबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । जागरण अभियानमा जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पुर्याएर समस्या समाधान गरिने उनले बताए ।


देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीमा हुर्किरहेको भन्दै यसको अन्त्य गर्न आवश्यक रहेको उनले बताए । उनले राष्ट्रिय पुँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको समेत उल्लेख गरे ।

उनले युवाहरूलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

जनताको चाहना र भावनालाई सम्बोधन गरी सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्दै जनतामा देशभक्तिको भावना जागृत गराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउने आफ्नो पार्टीको रणनीति रहेको बताए ।

नेता नेपालले पार्टीका कार्यकर्तालाई जनताका घरघर गएर समस्या समाधानका लागि पहल गर्न निर्देशन दिए ।

अभियानको सभामा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेले पार्टीले भ्रष्टाचार अन्त्य र सुशासनको नारा लिएर हिँडेको बताए । देशमा बर्सेनि ८ लाखको संख्यामा युवा विदेश जान बाध्य भएको अवस्थामा सरकारले कृषिलाई आधुनिकीकरण गरी आवश्यक मल, बीउ स्वदेशमै उत्पादन गर्न सके विदेश पलाएन रोकिने दाबी गरे ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल अध्यक्षता भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी केन्द्रीय उपाध्यक्ष प्रमेश हमाल, पार्टी केन्द्रीय सचिव रामकुमारी झाँक्री, पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेत, पार्टी स्थायी कमिटी सदस्य बिरोध खतिवडा लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x