बागमती

मन्त्री बस्नेत भन्छन् : कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कोही वञ्चित हुनु पर्दैन

इकागज |
असोज २०, २०८० शनिबार १५:६ बजे

मकवानपुर- संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कोहीमा वञ्चित हुनु नपर्ने बताएका छन् ।  

शनिबार हेटौंडामा पत्रकारसँग कुरा गर्दै मन्त्री बस्नेतले नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दाबी गरे । 'वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने रणनीति लिएको छ,' उनले भने । 


मन्त्री बस्नेतले देशैभरका अस्पतालहरूमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको बताउँदै उक्त सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्ने बताए ।

'हामीले सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थाहरूलाई जनताको स्वास्थ्य उपचारका लागि सहज र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका छौँ,’ उनले भने, 'चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर अघि बढ्ने तयारी भइरहेको छ ।'

स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा पनि सरकारले जोड दिएको उनले बताए ।

मन्त्री बस्नेतले चिकित्सकमाथि पटक-पटक आक्रमणको घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने बताए । चिकित्सक र स्वास्थ्यकर्मीहरू माथि भएका आक्रमणमा छानबिन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उनको भनाइ छ ।


Author

थप समाचार
x