बागमती

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा याेजना सार्वजनिक

इकागज |
असोज २१, २०८० आइतबार १९:४८ बजे

मकवानपुर- मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा याेजना सार्वजनिक गरेकाे छ । नजिकिँदै गरेको चाडपर्वहरूमा हुन सक्ने विभिन्न घटनाहरू न्यूनिकरणका लागि मकवानपुर प्रहरीले योजना तयार गरेको हाे ।

चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ८ सय १७ जना प्रहरीलाई खटाउन लागिएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । आइतबार पत्रकार भेटघाटमा मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले केही योजनाहरू आजैदेखि कार्यान्वयन भइसकेको जानकारी दिए ।


मकवानपुर प्रहरीले हेटौंडा-१४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको जनाएको छ । त्यस्तै हेटौंडा ११ थानाभर्याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनै पनि यात्रु नठगिउन् भन्ने उद्देश्यले सुमो काउन्टर क्षेत्रमा प्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेको जनाएको छ । साथै, आरक्षण सीटको स्टीकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत सुरु गरिएको रिजालले बताए ।

चाडपर्व लक्षित सचेतनाका लागि तयार पारिएका जिङ्गलहरू बजार चोकमा मात्र नभई जिल्लाभरिका विद्यालयहरूमा विहानको राष्ट्र गानपछि बजाएर विद्यार्थीहरूलाई जानकारी गराउने व्यवस्था मिलाएको उनले बताए । प्रहरीहरू सुरक्षा नाका,अस्पतालका बिरामी रेफर,लामो दूरी सवारी चेकजाँच, यात्रु सहायक कक्षजस्ता सुरक्षा कार्यमा प्रहरी खटाइएको उनले बताए ।

यसैगरी केन्द्रीय प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार ५ सय ३० जना प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार, विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारिएको हो । दसैँ र तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको जनाएको छ ।

यस्ता छन् सुरक्षा याेजना:


Author

थप समाचार
x