बागमती

मकवानपुरमा एनआरएनए दम्पतीलाई पहिलो पटक नागरिकता

इकागज |
कात्तिक १५, २०८० बुधबार २१:४३ बजे

मकवानपुर - मकवानपुर जिल्लामा  गैरआवासीय नेपाली (एनआरएनए) लाई पहिलो पटक नागरिकता दिइएको छ ।

बुधबार पहिलो पटक मकवानपुरका गैरआवासीय नेपाली हेटौंडाका संजिता विडारी र श्रीकृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाली नागरिक प्रदान गरेको हो । हेटौंडा ११ नवलपुरकी बिडारी र हेटौंडा ५ का थापा श्रीमान श्रीमती हुन् ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उनीहरुलाई गैरआवासीय  नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । नागरिक प्राप्ति पछि प्रजिअ सेढाईले उनीहरुलाई ईश्वर, देश र जनताको नाममा शपथ खुवाएका थिए ।


विगत १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएक बिडारी र थापाले गैरआवसीय  नेपाली नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै देश प्रतिको माया अझै बढेको बताए । आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको भन्दै थापाले देशलाई आर्थिक रुपमा सहयोग पुग्ने बताए ।

यसअघि असोज ३० गते मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेका थिए ।

गत जेठमा नागरिकता सम्बन्धी ऐन संशोधन गरेर गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलाइएको थियो । (बागमती प्रदेश सरिता दाहाल)
 


Author

थप समाचार
x