बागमती

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण

इकागज |
मंसिर १३, २०८० बुधबार १०:४५ बजे

रसुवा- पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले  रु २० हजारका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधिनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटलले म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गरेको र  बीलविजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो ।


समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटलको अनुगमन गरिएको जनाइएको छ  ।                

अनुगमनका क्रममा ती होटलबाट बिक्री गरिरहेका पेयपदार्थलगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ ।  पेय पदार्थगायतका चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य बृहस्पति तामाङले जानकारी दिए । 
        
चन्दनवारीदेखी गोसाइँकुण्डसम्मको ११ होटल अनुगमन गरिएको उनले बताए ।  बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए ।

यस्तै दुग्ध विकास संस्थानअन्तर्गत चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रको पनि सो अनुगमन समितिले स्थलगत निरीक्षण गरेको जनाइएको छ । रासस


Author

थप समाचार
x