बागमती

तातोपानी नाकाबाट पहिलोपटक तेस्रो मुलुकमा निर्यात (भिडियो)

निरोज चौलागाईं |
माघ १३, २०८० शनिबार १२:२४ बजे

सिन्धुपाल्चोक- नेपाल-चीन उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएको छ । शुक्रबार तातोपानी नाका हुँदै तेस्रो मुलुकको लागि नेपाली बजारमा उत्पादन भएको  खाद्य सामाग्री निर्यात भएको हो । शुक्रबार उत्तरी नाका भएर चीनको सेन्जेन पोर्ट हुँदै तेस्रो मुलुक जापान खाद्य वस्तु जान लागेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

चीनको सेन्जेन पोर्ट ट्रान्जिट भएर तातोपानीबाट नेपालकै इतिहासमा पहिलोपटक निर्यात सुरु भएको तातोपानी भन्सार प्रमुख दयानन्द केसीले बताए । शुक्रबार  २४ सय कार्टुन वाइवाइ जिङ्ग चाउचाउ बोकेको कन्टेनर चीन प्रवेश गरेको भन्सार प्रमुख केसीले बताए ।


नेपालतर्फबाट भन्सार कागजात पूरा गरेर मितेरी पुलमा चिनियाँ पक्षलाई हस्तान्तरण गरिएको उनले बताए  । 'अहिले तेस्रो मुलुकमा निर्यातको लागि सामान ढुवानी सिल्क ट्रान्सपोर्टले गरेको छ' उनले भने  । 

'नेपालबाट हामीले तेस्रो मुलुकमा निर्यातको सामाग्री ढुवानी गर्दै छौँ, यो पहिलोपटक हो, आगामी दिनमा हामीले जापान, कोरिया, भियतनामलगायत तेस्रो मुलुकमा माग बमोजिमको सामाग्री ढुवानी गर्नेछौँ' 'सिल्क ट्रान्सपोर्टका व्यवसायिक विजय शेर्पाले भने । नेपालमा तेस्रो मुलुक भियतनामबाट चीन हुँदै तातोपानीमा बेसार आइपुगेको थियो । त्यसैले उताबाट के कस्तो सामाग्रीको माग आउँछ त्यही अनुसार निर्यातको सामाग्री ढुवानी गर्ने शेर्पाले बताए ।

'पछिल्लो समय तातोपानी नाकामा व्यवसायी चहलपहल बढ्दै गएको छ यसलाई विस्तारै भोलुम बढाउँदै लैजानुपर्ने छ' सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमारले भने 'नेपाल चीनको छोटो उत्तरी नाका तातोपानी भएकाले नाकालाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।' ढुवानी भाडा कम र चीनको जुनसुकै सहरबाट छोटो समयमा व्यापारीले सामान आयात गर्न सक्ने नाका तातोपानी भएको बस्‍नेतले बताए । यसलाई सरकारले चुस्त दुरुस्त बनाएर भौतिक संरचनाको समेत मर्मत गरे धेरै जसो व्यवसायीले यही नाका प्रयोग गर्ने बस्नेतको भनाइ छ ।

तातोपानी नाकालाई सरकारले छिटोभन्दा छिटो सहज बनाएर आयात निर्यातमा सहयोग पुर्‍याउन आवश्यक रहेको नेपाल-चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष जाङ्बु शेर्पाले बताए ।
'अहिले सिल्क ट्रान्सपोर्टले निर्यातको लागि ढुवानीको जिम्मा पाएसँगै नेपालको धेरै व्यवसायी र सिन्धुपाल्चोकका नाकावासीका लागि खुसीको कुरा हो' शेर्पाले भने 'यो निर्यात रसुवाबाट हुन लागेको थियो, हामीले धेरैपटक पहल गर्‍यौँ त्यसैले आज सफल भएका छौँ ।'

तातोपानी नाका गत बैशाख १८ गतेबाट दुईतर्फी रुपमा सञ्‍चालनमा आएको थियो । पछिल्लोपटक चीनबाट आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दैनिक २५ कन्टेनर सामाग्री नेपाल भित्रिने गरेको छ ।

आयातमा वृद्धि भए पनि निर्यात भने ठप्पप्राय रहँदै आएको तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामाग्री निर्यात हुन थालेपछि निर्यातमा पनि वृद्धि हुने तातोपानी भन्सारले जनाएको छ ।
 


Author

थप समाचार
x