गण्डकी

स्वतन्त्र प्रेस सधैँ प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

इकागज |
पुस ४, २०७९ सोमबार १५:४९ बजे

फाइल फोटो

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताए । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उनले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिए । 


गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको बताउँदै उनले उक्त विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिए । 

विकाससँग पत्रकारलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पछिल्ला समयमा यो सोच विस्तार हुँदै गएको बताए । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघ निरन्तररुपमा स्वतन्त्र प्रेसका पक्षमा संघर्ष गरिरहेको बताए । 

महासंघका आगामी दिनमा हुने साधारणसभामा परम्परागत शैलीलाई परिमार्जन गर्दै यस क्षेत्रको सुधारका पक्षमा छलफल तथा अन्तरक्रिया हुने किसिमले अघि बढाउनुपर्ने उनले बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, महासचिव गोविन्द सुवेदी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेल, फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस, प्रेस सेन्टर नेपाल गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, समाजवादी प्रेस सङ्गठन गण्डकीका अध्यष गणेश पौडेल, प्रेस चौतारी नेपालका श्याम कुँवर, प्रेस युनियन कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले कोभिडलगायतका कारण पत्रकार एवं पत्रकारिता क्षेत्र प्रभावित बनेको बताए । रासस


Author

थप समाचार
x