गण्डकी

पोखरा-मुग्लिन सडकमा धुलोको सास्ती, यात्रु भन्छन् : यो बाटो हिँड्दा फेर्ने कपडा नै बोकेर जानुपर्छ

गण्डकीका सांसदको चासो

धनबहादुर गुरुङ |
फागुन ११, २०७९ बिहीबार २१:६ बजे

पोखरा- पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडकखण्ड विस्तारको काम चलिरहेको छ । यहाँ आँबुखैरेनीदेखि पोखरासम्म २ खण्ड बनाएर काम भइरहेको छ । पहिलो खण्ड आँबुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो जामुनेदेखि पोखरासम्म हो । तर, यी दुवै स्थानमा काम ढिला भएको छ । जसले गर्दा यात्रुहरूले धुलो र जामको सास्ती भोग्न बाध्य छन् ।

अहिले यो सडकखण्डमा यात्रा गर्ने साना तथा ठूला सवारीसाधनका यात्रुले सास्ती खेप्नुपरेको छ । मंगलबार मुग्लिन हुँदै पोखरा आएका मनबहादुर गुरुङले धुलोका कारण यात्रा गर्न साह्रै गाह्रो भएको बताए । ‘घाम लागेका समयमा धुलाम्मे भएर साह्रै गाह्रो । झ्याल नलगाउ धुलो हुने लगाउँदा गर्मी उस्तै,’ उनले भने, ‘यो बाटो हिँड्दा फेर्ने कपडा नै बोकेर जानुपर्ने अवस्था छ ।’


यहाँको पहिलो खण्ड आँबुखैरेनीदेखि जामुनेसम्म १५.५ प्रतिशत र दोस्रो जामुनेदेखि पोखरासम्म खण्डमा ४.१ प्रतिशत गरी समग्रमा १० प्रतिशत भौतिक प्रगति भएको देखिन्छ । पहिलो खण्डको ठेक्का सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । यो खण्डको कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ ।

दोस्रो खण्डको २०७८ जेठ ३ गते सम्झौता भएको थियो । जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैर सहरी क्षेत्र छ । 

यहाँ भएको ढिला सुस्ती र यात्रुको समस्या गण्डकी प्रदेश सभासम्म पुगेको छ । गण्डकी प्रदेश सभामा बुधबार शून्य समयमा बोल्ने सांसदले प्रदेशका विभिन्न पूर्वाधार निर्माण र ठेकेदारका ढिलासुस्तीबारे आवाज उठाएका थिए । तनहुँका अशोक श्रेष्ठले पोखरा मुग्लिन सडकखण्डको सास्ती र निर्माणको सुस्तताबारे संसद्को ध्यानाकर्षण गराए । 

मुग्लिन पोखरा चार लेन बनाउने आयोजनाको ठेक्का सम्झौताअनुसार काम गर्ने म्याद १४ महिनामात्रै बाँकी छ । पहिलो खण्डको काम आगामी २०८१ वैशाख र अर्को खण्ड २०८१ भदौसम्म सक्ने गरी सम्झौता भएको थियो । तर, प्रगति निकै सुस्त भएको भन्दै सांसद श्रेष्ठले सरकारको ध्यान नपुगेको बताए । ‘काम निकै सुस्त भएको छ । यो अवस्था हेर्दा समयमा काम सकिने छाँटकाँट छैन,’ उनले भने, ‘सरकारले तुरुन्त अनुगमन गरोस् । नागरिकले सास्ती पाएका छन् । छिटो काम सक्ने वातावरण बनाओस् ।’


Author

थप समाचार
x