गण्डकी

गण्डकी प्रदेशकाे वृत्तचित्र सार्वजनिक

इकागज |
फागुन २१, २०७९ आइतबार १७:३० बजे

काठमाडौं- नेपाललाई ‘फिल्मिङ डेस्टिनेशन’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार भएको गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक भएको छ ।

फिल्म छायांकनका लागि खुल्ला स्टुडियोका रूपमा नेपाललाई प्रवर्द्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो । करिब १० मिनेट लम्बाइ रहेको यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख छायांकन सम्भावित स्थलहरू समेटिएको छ । यो वृत्तचित्र सुयोग गुरुङले निर्देशन गरेका हुन् ।


प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचारप्रसार हुनुपर्ने आवश्यकता महसुस गरी बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब इमिरेट्समा भएको ’नेपाल चलचित्र फेस्ट’मा प्रदर्शन गरिएको थियो । बोर्ड अध्यक्ष भुवन केसीले यस प्रकारले सातै प्रदेशमा रहेका छायांकन सम्भावित क्षेत्रहरूलाई समेटेर श्रव्यदृश्य सामग्री बनाउँदै जाने बताए ।

‘यस प्रकृतिका सामग्रीहरू बोर्डले निरन्तर बनाउँदै विश्वव्यापी पुर्‍याउनेछ । नेपाललाई राष्ट्रिय तथा अन्तर्रा‍ष्ट्रिय चलचित्र छायांकनका लागि खुल्ला स्टुडियोका रूपमा विश्वव्यापी प्रवर्द्धन गर्ने योजना अनुरूप हालका लागि गण्डकी प्रदेशमा रहेका केही प्रमुख छायांकन स्थलहरू समेटिएको वृत्तचित्र सार्वजनिक गरेका हौँ,' उनले भने ।

नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारको गहिरो चासो रहेको र सोही अनुरूप चलचित्र विकास बोर्डले काम गरिरहेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले बताए ।

‘बोर्डले स्पष्ट रूपमा नेपालमा चलचित्रको भिन्न पक्षको प्रवर्द्धनमा सहयोग गर्ने वातावरण सिर्जना गरेको छ । नेपालमा नेपाली चलचित्रहरूको मात्र नभई विश्वका ठूला चलचित्र उद्योगहरूमा बनिरहेका चलचित्रहरूको समेत छायांकन हुँदै आएको छ । यसलाई ठूलो संख्यामा विकास गर्ने उद्देश्य स्वरूप प्रवर्द्धनात्मक सामग्रीहरू बोर्डले प्रकाशन तथा निर्माण गर्ने उद्देश्य लिएको छ । यसबाट चलचित्र पर्यटनको उल्लेख्य विकास हुने विश्वास लिएका छौँ,' गुरागाईंले भने ।

बोर्डले गत २०७६ सालमा लोकेसन गाइडका रूपमा विश्वव्यापी प्रयोग हुने उद्देश्यसहित ’फिल्मिङ इन नेपाल-भोल्यूम १’ पुस्तक पनि प्रकाशन भएको थियो ।


Author

थप समाचार
x