गण्डकी

स्ववियु निर्वाचन

पृथ्वीनारायण क्याम्पसमा उम्मेदवार छनोट सकस, स्ववियु कार्यालयमा तालाबन्दी

धनबहादुर गुरुङ |
फागुन २६, २०७९ शुक्रबार १४:५४ बजे

पोखरा- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी ५ चैत्रमा हुँदैछ । त्रिभुवन विश्वविद्यालयले क्यालेन्डर नै बनाएर यसको काम गरिरहेको छ । जसले त्रिवि मातहत पोखराका क्याम्पसहरूमा चुनावी सरगर्मी बढेको छ ।

चुनावका लागि क्याम्पसमा १२ समूह दर्ता भएका छन् । पहिले १४ समूह दर्ता थिए तर, दुई समूहको नाम सर्वदलीय बैठकबाट रद्द भएपछि क्याम्पस स्ववियु निर्वाचन समितिले १२ समूहको अन्तिम नामावली प्रकाशन गरेको हो ।


जसमा एमालेनिकट अनेरास्ववियु, नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौं), विप्लव माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी विप्लव, अनेरास्ववियु क्रान्तिकारी संयुक्त, पृथ्वी विद्यार्थी मञ्च, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, संयुक्त विद्यार्थी युनियन, नेकपा समाजवादीनिकट अनेरास्ववियु दर्ता भएका छन् । समाजवादीनिकट अनेरास्ववियुको बागी रूपमा समाजवादी विद्यार्थी युनियन दर्ता भएको छ ।

तर, ती विद्यार्थी संगठनले सभापति उम्मेदवार छनोट गर्न सकेका छैनन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मात्र संगठनबाट सभापतिको उम्मेदवार टुंगाएको छ । यो संगठनबाट सभापतिमा वसन्त भट्टचनले चुनावी तयारी थालिसकेका छन् ।​

कांग्रेसनिकट नेवि संघबाट चार जना सभापतिका आकांक्षी छन् । नेवि संघबाट गौरव बराल, शोभाखर चापागाईँ, सुशील न्यौपाने र सञ्जय आले आंकाक्षी रहेको नेविसंघका पूर्व केन्द्रीय सदस्य गोपाल गुरुङले जानकारी दिए । आकांक्षी चार जनाको नाम जिल्लामा पठाउने र जिल्लाले एक जना छनोट गर्ने उनले बताए ।

एमालेनिकट अनेरास्ववियुमा पनि आकांक्षी धेरै रहेको क्याम्पस कमिटी अध्यक्ष पोखरेलले जानकारी दिए । ‘हाम्रो संगठनमा आकांक्षी ५/७ जना हुनुहुन्छ,’ उनले भने, ‘अझ ३ जनाबीचको उम्मेदवार हुने भन्ने चर्चा छ ।’

एकीकृत समाजवादीनिकट अनेरास्ववियूमा पनि सन्तोष न्यौपाने, बज्रराज अधिकारी र रसिक न्यौपानेको चर्चा रहेको क्याम्पस कमिटी अध्यक्ष सन्तोष न्यौपानेले बताए । 

स्ववियु कार्यालयमा तालाबन्दी

पृथ्वीनारायण क्याम्पसको स्ववियु कार्यालयमा भने बुधबारदेखि ताला लागेको छ । कर्मचारीले सूचना चुहाएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा केही विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । क्याम्पसका केही विद्यार्थी संगठनहरूले कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै विज्ञप्ति टाँसेर तालाबन्दी गरेको हो ।

‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुंगो नहुँदै केही अमुक विद्यार्थी संगठनलाई मतदाता नामावलीपत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भीर शंका भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अखिल क्रान्तिकारी पिएन अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्त अध्यक्ष गगन परियारले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रशासनसमक्ष दुई बुँदे माग राख्दै तालाबन्दी भरिएको हो ।

‘त्रिभुवन विश्वविद्यालयमार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुन प्रकाशित गर्नुपर्ने,’ विज्ञप्तिमा भनिएको छ । स्ववियु निर्वाचन समितिका सदस्यसचिव बोधराज ढकालले ताला अझै नखुलेको बताए ।

‘हामीसँग फोन नम्बर भएको हुँदैन तर केही विद्यार्थी संगठनले फोन नम्बरसहितको नामावली प्राप्त भयो भन्नुभयो,’ उनले भने, ‘त्यही विषयलाई लिएर उहाँहरू तालाबन्दी गर्नुभएको थियो बुधबार रातिसम्म नखुलेका कारण काम अघि बढ्न सकेन ।’

उनका अनुसार बुधबार मतदाता नामावली माथि दाबी विरोध र बिहीबार अन्तिम नामावली प्रकाशन गर्ने तयारी थियो । ‘विद्यार्थीहरू सहमतिमा आउन खोज्नुभएको छैन । माग फरक फरक प्रकृतिका छन्,’ उनले भने, ‘कागजातभित्रै छ । हामीले केही गर्न सक्ने अवस्था नै छैन ।’ सबै विद्यार्थी मिलेर आए अनि प्रशासनले व्यवस्थापन गरे सहज हुने उनको भनाइ छ ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेल यो सरासर चुनाव बिथोल्ने काम भएको बताउँछन् । ‘क्रान्तिकारी विद्यार्थीका साथीहरूले तालाबन्दी गर्नुभएको छ । यसमा कुनै तुक छैन,’ उनले भने, ‘यो भनेको निर्वाचनबाट भाग्ने तयारी हो ।’


Author

थप समाचार
x