गण्डकी

गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति कति ?

धनबहादुर गुरुङ |
बैशाख ८, २०८० शुक्रबार १९:४३ बजे

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सम्पत्ति १०० दिनपछि सार्वजनिक भएको छ । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोगसम्बन्धी ऐनमा ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । अधिकारीले समयमै सम्पत्ति विवरण बुझाएपनि १०० दिनपछि मात्र सार्वजनिक भएको छ । 

शनिबार मुख्यमन्त्री अधिकारीले संसद्‍मा विश्वासको मत लिँदै छन् । तर, उनले विश्वासको बहुमत पाउने अनिश्चित छ । सरकार बनाउने बेला साथ दिएको नेकपा माओवादी केन्द्रले चेत १० गते साथ छोडेसँगै मुख्यमन्त्री अल्पमतमा परेका थिए । पद जाने बेलासम्म पनि सम्पत्ति विवरण नबुझाएकोमा आलोचना भएपछि मुख्यमन्त्री अधिकारीले जाने बेलामा सम्पत्ति विवरण गरेका हुन् । 


यद्यपि उनले समयमै सम्पत्ति विवरण बुझाएको बताएका छन् । मुख्यमन्त्री अधिकारीले माघ १२ गते सम्पत्ति विवरण बुझाएको उल्लेख छ । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत शुक्रबार सम्पत्ति विवरण सार्वजनिक भएको हो । ‘माननीय मुख्यमन्त्री लगायत सबै माननीय मन्त्रीज्यूहरूको सुरु नियुक्तिको ६० दिन भित्र पेश गर्नु भएको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राप्त भएको छ,' वेबसाइटमा उल्लेख छ । तर, मुख्यमन्त्री बाहेक अरु मन्त्रीको सम्पत्ति विवरण भने प्राप्त भएको भनी वेबसाइटमा उल्लेख गरिएपनि सार्वजनिक गरिएको छैन ।'

शुक्रबार सार्वजनिक भएको मुख्यमन्त्री अधिकारीको सम्पत्ति विवरण अनुसार पोखरा–१२ मा ६ आनामा बनेको घर छ । उक्त घर पैतृक सम्पत्ति बिक्रीबाट ६० लाख रुपैयाँमा बनाएको र हाल २ करोड रुपैयाँ पर्ने उनले उल्लेख गरेका छन् । २०७८ साल जेठमा ८० लाख रुपैयाँ प्रभु बैंकबाट श्रीमतीकै नाममा ऋण लिएर काठमाडौको चन्द्रागिरि नगरपालिकामा अधिकारीले घडेरी किनेका छन् । यि बाहेक मुख्यमन्त्री अधिकारीले बैंक मौज्दात, सुन, शेयर, गाडी सम्पत्ति विवरणमा खुलाएका छन् । 

आमाको अंशबाट शेषपछि संयुक्त पुर्जा भएको पोखरा महानगरपालिका–३१ मा जग्गा रहेको उल्लेख छ । ८ ठाउँमा भएको जग्गा कति क्षेत्रफल हो स्पष्ट छैन । स्वआर्जनबाट १५ लाख रुपैयाँ नगद र ३ तोला सुन भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

मुख्यमन्त्री अधिकारीको गण्डकी विकास बैंकको २ हजार ४९७ कित्ता शेयर छ । अधिकारीको २५ लाख रूपैयाँ ऋण देखाइएको छ । ३ जना व्यक्तिसँग ३५ लाख लिएकोमा २०७८ सालमा १० लाख रुपैयाँ तिरेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री अधिकारीसँग एउटा स्कोर्पियो गाडी छ ।

त्यसबाहेक अग्रगामी कृषि फार्ममा श्रीमती रमा पाण्डेको साढे १६ लाख रुपैयाँ र चितवनमा बनिरहेको रिसोर्टमा पनि श्रीमतीकै नाममा २० लाख रुपैयाँ लगानी छ । विभिन्न बैंक र सहकारीमा मुख्यमन्त्री अधिकारीको १० लाख रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ । 


Author

थप समाचार
x