गण्डकी

पाण्डे सरकारको पहिलो निर्णय

लिफ्टिङ खानेपानी र सिँचाइका लागि नि:शुल्क विद्युत्

धनबहादुर गुरुङ |
बैशाख १५, २०८० शुक्रबार १६:५७ बजे

पोखरा- बिहीबार नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नवनियुक्त मुख्यमन्त्रीसँगै बिनाविभागीय मन्त्रीद्वय सरस्वती अर्याल र शुशीला सिंखडाले शपथ लिएपछि पदभार ग्रहणका क्रममा विभिन्न निर्णय गरेको छ ।

पदभार ग्रहण गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा सरस्वती अर्याललाई नियुक्त गरेको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पर्यटन, जलविद्युत्, उत्तरी र दक्षिणी नाका सञ्चालनमा ध्यान दिने बताए । सोही अवसरमा उनले युवालाई प्रोत्साहन गर्नका लागि कृषिमा आधुनिकीकरणमा ध्यान दिँदै कार्यक्रम तय गर्ने पनि उल्लेख गरे ।


सरकारका प्रवक्ता सरस्वती अर्यालले प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिन् । लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत महसुलमा सतप्रतिशतसम्म अनुदान दिने निर्णय गरेको उनले बताइन् । कृषि उत्पादन र उत्पादकत्व बढाउन लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत महसुलमा सतप्रतिशतसम्म अनुदान दिने निर्णय पनि गरेको हो ।

बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटो, छरितो एवं सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो ।


Author

थप समाचार
x