गण्डकी

पोखराका अटेरी ४४ स्वास्थ्य कर्मचारीको हाजिर रोक्का

इकागज |
साउन १८, २०८० बिहीबार १३:३४ बजे

पोखरा- पोखरा महानगरका स्वास्थ्य महाशाखाका केही कर्मचारीको हाजिरी रोक्का गरिएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार पत्र काटेर काज फिर्ता नगएका कर्मचारीको हाजिर रोक्का गर्न निर्देशन दिएको हो ।

महानगरको पत्रले स्वास्थ्य महाशाखामा कार्यरत ४४ स्वास्थ्य कर्मचारीको हाजिरी रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार पोखरा महागरपालिकाले स्वास्थ्यका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेको थियो । सोही अनुसार असार २८ गते नै स्वास्थ्य महाशाखालाई पत्र काटेको थियो ।


तर, कार्यान्वयन नभएपछि महानगरले ती कर्मचारीहरूको हाजिर रोक्का गर्न महाशाखालाई पुनः पत्र पठाएको हो । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगरबाहेक अन्यत्र स्थानमा समायोजन भई  महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमै रहेका कर्मचारीहरूलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको हो । 

हाजिर नगराउन भनेपनि प्रक्रिया अनुसार आदेश नमिलेको स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले बताए । उनका अनुसार महाशाखाबाट बिदाई हुनेमा ५७ जना कर्मचारी छन् । जसमा ३७ जना कामकाज गर्न आएको, ११ जना पदस्थापन भएर पनि नगएका र ९ जना दरबन्दीभन्दा बढी तर काममा बसेका स्वास्थ्यका कर्मचारी छन् । महाशाखाका सूचना अधिकारी फुलदेव तिम्सिनाका अनुसार पोखरा महानगरको स्वास्थ्य महाशाखामा ३ सय ३४ कर्मचारी छन् ।

तर, महानगरले भने ४४ जना स्वास्थ्यका कर्मचारी काज फिर्ता हुनुपर्ने बताएको छ । जसमा महानगरपालिकामा काजमा आएका ३४ र समायोजन भएर रमाना लिनुपर्ने ७ जना कर्मचारीलाई काम नगराउन महानगरपालिका प्रशासन शाखाले महाशाखालाई पत्र पठाएको हो ।

पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख अर्याल आफैं काजमा फर्कनुपर्ने हुन्छ । किनभने उनी आफैं पनि स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशबाट महानगरमा आएका हुन् । उनीसँगै अन्य स्वास्थ्यकर्मीहरू लमजुङ, बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, गोरखा, नवलपुर, तनहुँ, सिन्धुपाल्चोकका विभिन्न पालिकामा दरबन्दी रहेर पोखरामा काम गरिरहेका छन् ।

स्वास्थ्य महाशाखाका प्रमुख अर्याल भने काज फिर्तामा जाने कर्मचारी आक्रोशित बनेको बताए । उनीहरुको हाजिरी नहुने भएपछि धेरै जसो घरमै बसेको उनको प्रतिक्रिया थियो । ४४ स्वास्थ्यकर्मीमध्ये अहिलेसम्म ५/६ जना मात्र काज फिर्ता हुने प्रक्रियामा अघि बढेको उनले सुनाए । उनले भने, ‘५/६ जना जति चिठी लिएर रमाना लिने तयारीमा हुनुहुन्छ । अरु हाजिरी नहुने भएपछि घर तिरै हुनुहोला ।’ 

प्रक्रिया पूरा नगरी हाजिर नगर्न आदेश दिएको भन्दै कर्मचारीले असन्तुष्टि जनाएको उनले सुनाए । ‘ठाडो आदेशमा हाजिर नगर्नु भन्ने परिपत्र छ । त्यसमा फिर्ता जाने साथीहरूले पहिला काज फिर्ताको चिठी चाहियो । त्यसपछि रमाना पनि चाहियो,’ उनले भने, ‘चिठी र रमाना लिनका लागि २१ दिनको म्याद हुन्छ । त्यसैले हाजिर नगर्नु भन्ने कुरा अलि मेल खाएको छैन । यसमा साथीहरूले आक्रोश व्यक्त गरेका थिए ।’

स्वयं अर्यालको सम्बन्धमा आफू महानगरको स्वास्थ्य महाशाखामा नवौं तहको दरबन्दी रिक्त रहेको अवस्थामा सोही पदमा तलब भत्ता खानेगरी कामकाज गर्न स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशबाट सहमतिको आधारमा आएको बताए ।

सोही कारण पनि उनले आफ्नो पदमा अर्को व्यक्ति हाजिर नभई जान नमिल्ने तर्क दिन्छन् । ‘कार्यालय प्रमुखको दरबन्दीका लागि लोक सेवाबाट प्रक्रिया अघि बढिरहेको अवस्थामा स्वतः फिर्ता हुने गरी आएको हुँ,’ उनले भने ।

प्रक्रियाअनुसार नै जाने हो भने पनि आफ्ना लागि लामो प्रक्रिया रहेको उनले बताए । फाँटवारी मिलाउने, आन्तरिक कामको अडिट, कार्य सम्पादन मूल्यांकनलगायत सबै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

‘मेरो सवालमा महाशाखा प्रमुख भएकाले फाँटवारीहरू सही गर्नै बाँकी छ । आन्तरिक कामको अडिट भएको छैन,’ उनले भने, ‘सबै शाखाका सचिवहरूको कार्य सम्पादन मूल्यांकनमा सही गर्न बाँकी छ ।’


Author

थप समाचार
x