लुम्बिनी

कोभिड-१९ का कारण जितगढी विजय उत्सव स्थगित

बिक्रम खड्का |
बैशाख ३, २०७८ शुक्रबार १५:४९ बजे

बुटवल : ऐतिहासिक युद्धस्थल बुटवलको जितगढीमा बैशाख ७ गते गर्ने भनिएको विजय उत्सव समारोह स्थगित भएको छ । कोभिड–१९ संक्रमणको कारण कार्यक्रम स्थगित गरिएको बुटवल उपमहानगपालिकाले जनाएको छ । वि. सं.१८७२ बैशाख ७ गते कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई पराजित गरेको सम्झनामा जितगढीमा विजय उत्सव मनाउन थालिएको थियो । नेपालले अंग्रेज फौजलाई पराजित गरेको जितगढी मात्र एक हो । 

२०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भव्य कार्यक्रम भएको थियो । गत वर्ष कोभिड संक्रमणको कारण समारोह भएन । दुई वर्ष अघि जस्तै यो पटक पनि भव्य रूपमा जितगढीमा विजय उत्सव मनाउने तयारी उपमहानगरपालिकाले गरेको थियो ।


विजय उत्सव मनाउन फागुन २८ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरप्रमुख शिवराज सुवेदीको संयोजकत्व तथा उपप्रमुख गुमादेवी आचार्यको सह संयोजकत्वमा मुल समारोह समिति बनाएको थियो ।

समितिमा कार्यपालिका सदस्यसहित नगर भित्रका राजनीतिक दर, सुरक्षा निकाय, सरकारी कार्यालय, विभिन्न संघ संस्थाका प्रमुखहरूलाई सदस्यको रूपमा राखिएको थियो । त्यस्तै १० वटा जति उपसमितिहरु समेत गठन गरिएको थियो । चैत्र महिनामा भारत हुँदै नेपालमा कोरोना संक्रमण पुन बढ्न थाल्यो । संक्रमण बढ्न थालेपछि उपमहागरपालिकाले जितगढीमा गर्ने भनिएको विजय उत्सव कार्यक्रम स्थगित गरेको छ । 

गत चैत्र २७ गते बसेको नगर कार्यपालिकाको बैठकले मुल समारोह कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । ‘केही दिन यता कोभिड–१९ संक्रमण दर बढ्न गएको पाइएको हुँदा विजय उत्सवको पूर्वतयारी भएता पनि हाल पनि गत वर्ष जस्तै गरी जितगढी विजय उत्सव मनाउने निर्णय गरियो।’ कार्यपालिका बैठकको निर्णयमा भनिएको छ ।

संक्रमण र लकडाउनको कारण अघिल्लो वर्ष बैशाख ७ गते उजिरसिंहको शालिकमा माल्यार्पण मात्र गरिएको थियो । यस वर्ष पनि जितगढीस्थित उजिरसिंहको शालिकमा माल्यार्पण मात्र गर्ने बुटवल उपमहानगरपालिकाका  निमित्त कार्यकारी प्रमुख मित्रमणी खनालले बताए । । 

‘नेपाली सेना, प्रहरीको टुकडी र बाजागाजा सहितको ¥याली गर्ने, जितगढीमा भव्य समारोह गर्ने तयारी थियो । कोरोनाको जोखिम र नेपाल सरकारले पनि भिडभाड नगर्न भनेपछि सानो कार्यक्रम मात्र हुने छ ।’ उनले भने ‘सो दिन उजिर सिंहको शालिकमा माल्यार्पण गर्छौं ।’ 

ऐतिहासिक र गौरव गर्न लायक स्थल भएर पनि बुटवलको मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी किल्ला ओझेलमा थियो । नेपाली सेनाको सहयोगमा पूर्वाधार निर्माण, रंगरोगन र झण्डा फहराउने काम भएको थियो ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x