लुम्बिनी

लगानी अरबौं, अपेक्षा पर्यटन

दुई केवलकार कम्पनीले उठाउलान् बुटवललाई ?

विक्रम खड्का |
जेठ १४, २०८० आइतबार १६:१७ बजे

बुटवल - आर्थिक मन्दीदेखि प्रदेश राजधानी स्थानान्तरणपछि पश्चिम क्षेत्रकै चलायमान शहर बुटवल सुस्ताएको छ । यहाँका मुख्य बजारमा सटरहरू खाली भएको सूचना टाँसिएको छ ।

खासगरी बुटवलकै मुटु मानिने अमरपथ, ट्राफिकचोक लगायतका स्थानमा सटरहरू बन्द भएका छन् । ट्राफिक व्यवस्थापनको समेत समस्या भएको भनिएको सो क्षेत्रको आर्थिक करोबार निकै सुस्ताएको छ । बुटवल बजार फेरि पहिलेकै अवस्थामा उठ्नेमा स्वयं व्यवसायीहरू नै आंशका गर्दछन् । 


निकै पुरानो र चलायमान बुटवललाई आर्थिक कारोबारका हिसाबले चलायमान बनाउन एउटा अवसर फेरि आएको छ । त्यो हो पर्यटकीय संरचना निर्माण । बुटवलका दुई शिरका रुपमा रहेका वसन्तपुर र नुवाकोटका चुरे पहाडहरूमा बुटवलबाट केवलकार संचालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । केवलकारको माध्यमबाट फेरि एक पटक बुटवल उठ्न सक्ने तर्क गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजू बुटवलका लागि एउटा अवसर आएको तर्क गर्दछन् । 

उनले भने–‘चरम आर्थिक मन्दीको अवस्थामा पनि ठूलो लगानीमा दुईवटा केवलकार बुटवलको शिरमा सञ्चालन हुनु बुटवलका लागि अवसर हो । यसका माध्यमबाट हुने पर्यटकीय चहलपहलले फेरि बुटवलको आर्थिक गतिविधि उठ्न सक्ने छ ।’

दुई केवलकार एकै पटक तयार

लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजनासहित आफ्नो परियोजना अन्तिम चरणमा पुर्याएका छन् । 

बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केवलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ । यो केवलकार व्यवसायी चन्द्र ढकाललगायतको समूहको हो । बुटवल र पाल्पा तर्फका स्टेसन निर्माणको काम सम्पन्न भएर केही दिनमै यो केवलकार सञ्चालनको तयारीमा छ । 

लुम्बिनी केवलकारको लागि साढे तीन अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको छ । लुम्बिनी केबुलकारमा २५ वटा गोन्डुला हुनेछन् । प्रति गोन्डुला आठ जना यात्रु सवार गर्न सक्नेछन् । जसमा प्रतिघण्टा ६ सय जना यात्रु ओहोरदोहोर गर्न सक्ने कम्पनीको दाबी छ । तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबुलकारले बुटवल–३ को चुरे सामुदायिक वन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरी डाँडा न्याउली सामुदायिक वनसमेतको ३ दशमलव ११ हेक्टर गरी ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । 

यहाँ पाँचतारे होटेल र पार्कसहितका संरचनामा पनि लगानी हुँदैछ । वसन्तपुर डाँडामा १ सय ५० कोठाको पाँचतारे स्तरको होटेल बन्ने योजनामा छ । जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने दाबी कम्पनीको रहेको छ ।  केबुलकार प्रालिका व्यवस्थापक गोकुल साउदले यही जेठ १५ गतेदेखि नै नियमित सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए । यो केबुलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । भने उद्घाटन केहि दिन भित्रै गर्ने गरि तयारी भैरहेको छ । 

त्यसको केही हप्तापछि एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको सिद्धार्थ केबुलकारको काम पनि धमाधम भइरहेको छ । बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबुलकार पाल्पाको नुवाकोट पुग्नेछ । जसको स्टेसन निर्माणको काम अन्तिम चरणमा छ । करिब ९० प्रतिशत काम पूरा भएको सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताए । उनले यो केबुलकार केही दिनभित्रै सञ्चालनमा आउने गरी निर्माणको कामलाई तीव्र पारिएको बताए । 

यहाँ पनि झन्डै १ अर्बको लगानी छ । अहिले नुवाकोटमा सुविधा सम्पन्न रिसोर्ट पनि निमार्ण भैरहेको छ । त्यस्तै चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र,शान्ति पार्क, गुम्बा, भ्यु टावर, स्वास्थ्य केन्द्र लगायतका संरचनाहरू बनिरहेका छन् । शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा ८ मिनेटमा पुग्न सकिने १ दशमलव ९४ किलोमिटर लम्बाइको केबुलकारमा एउटा गोन्डुलामा ८ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष गुरुङले बताए । नियमित रूपमा केबुलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको दाबी छ ।

अर्बौं लगानीमा केवलकार बन्दा व्यवसायी उत्साहित  

बुटवलमा दुईबाट केवलकार एकैपटक सञ्चालन हुने अवस्थामा पुगेपछि यहाँका व्यवसायीहरू उत्साहित  छन् । खास गरी पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ । भैरहवामा गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठूल्ठूला होटेलमा लगानी गरेका यहाँका व्यवसायीले यी दुई केवलकारले यस क्षेत्रमा अर्थतन्त्र चलायमान हुने भन्दै हौसिएका छन् । 

बुटवलमा बन्दै गरेका दुई केवलकारले बुटवलको नयाँ पहिचानसहित बजार चल्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष कसजूले दावी गरे । त्यस्तै होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले बुटवल क्षेत्र केवलकारका हिसाबले पनि चलायमान हुने दावी गर्दछन् । केवलकारबाट भारत तथा नेपाल दुवै देशमा पर्यटकहरू आउने भएपछि यहाँको पर्यटन क्षेत्रसँग सिङ्गो बजारमा नै चहलपहल हुने उनको तर्क छ । 

के का लागि बुटवल आउने छन् पर्यटक ?

बुटवलको शिर पाल्पाको बसन्तपुर हो । जहाँ केवलकारको टप स्टेसन निर्माण गरिएको छ । जहाँ कलात्मक कामाख्या देवीको मन्दिर छ । भारतको गुवाहाटीमा रहको कामाख्या मन्दिरकै शैली र कलामा बसन्तपुरमा पनि कामाख्या मन्दिर निर्माण गरिएको हो । जुन मन्दिरमा दर्शनका लागि नेपालवाट मात्रै हजारौं भक्तजान त्यहाँ जाने गरेका छन् । कामाख्या मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरू किशोर गौतमले बताए । बसन्तपुरमा कामाख्यादेवीको मन्दिरसहित भगवती र गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरू निर्माण भइरहेका छन् । त्यस्तै, क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट निर्माणको काम पनि भइरहेको कम्पनीले जनाएको छ ।

नेपालका मात्र नभई बुटवलदेखि नजिकै रहेको भारतको गोरखपुर, लखनउ लगायतका सहरबाट समेत भारतीय पर्यटकहरूलाई आकर्षित गर्न सकिने भन्दै केबुलकारमा लगानी गरिएको प्रालिले जनाएको छ ।

समुद्री सतहबाट नौ सय ४० मिटरको उचाइमा रहेको बसन्तपुरको तापक्रम बुटवलको भन्दा चार पाँच डिग्रीसम्म कम हुने भएकोले गर्मी मौसममा शीतलताका लागि र जाडो मौसममा न्यानोका लागि पर्यटक लैजान सकिने प्रालिले जनाएको छ ।

त्यसैगरी नुवाकोट पनि बुटवलको अर्को शिर हो । जहाँ पनि केवलकार निर्माण अन्तिम चरणमा छ । नुवाकोटमा पनि अत्याधुनिक रिसोर्टदेखि चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, शान्ति पार्क, गुम्बा, भ्यु टावर, स्वास्थ्य केन्द्र लगायतका संरचना बनिरहेका छन् ।

त्यसैगरी नाट्य डवली निर्माण सम्पन्नको अवस्थामा छ । भारतको गोरखपुर सम्मको दृश्य देख्न सकिने भ्यूटावर निर्माण हुने भएकाले पनि त्यहाँ पर्यटकहरूको आकर्षण बढ्ने दावी कम्पनीको छ । त्यसैगरि शीतलताको खोजीका लागि पनि अग्लो चुरे पहाडमा नेपाल र भारतका पर्यटकहरू पुग्ने अपेक्षा गरिएको छ ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x