लुम्बिनी

'वन ऐन र राजश्व सम्बन्धी समस्या समाधान भए आयोगले तत्काल सवा लाख लालपूर्जा वितरण गर्छ'

इकागज |
असोज २४, २०८० बुधबार २०:३४ बजे

बुटवल - राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले वन ऐन र राजश्व सम्बन्धी समस्या समाधान भए आयोगले तत्काल सवा लाख लालपूर्जा वितरण गर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।

अब्यवस्थित बसोवासीहरूको जग्गाको मुल्यांकन बढी भएको भन्ने गुनासो आएको र बन ऐनमा भएका कतिपय अष्पष्टताका कारण बाड्न तयारी अवस्थामा रहेका लालपूर्जा वितरण हुन नसकेको भन्दै उनले ती समस्या समाधान भए तत्कालै सवा लाख लालपुर्जा बितरण गर्न सकिने बताए ।


संवाद समूह लुम्बिनीद्वारा बुधबार बुटवलमा आयोजित भूमिहिन दलित, भूमिहीन सुकुम्बासी, अब्यवस्थित बसोवासीहरूको लागि भूमि ब्यवस्थापन सवाल बिषयक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष निरौलाले जिल्लाबाट आएका सुझावको आधारमा ५० प्रतिशत राजश्व घटाउन र बन ऐनमा रहेका अस्पष्टतालाई स्पष्ट पारेर समस्या समाधान गर्न मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी समेत गराए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष उमेश चन्द्र यादव, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, तिलोत्तमा नगरपालिकाकि उपमेयर जगेश्वरदेवी चौधरी, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, राष्ट्रिय भुमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेलगायत जिल्ला अध्यक्षहरूले कम्तीमा पनि ५० प्रतिशत राजश्व घटाउनु पर्ने र बन ऐन लगायतका समस्या समाधान गरेर लालपुर्जा बितरण गर्नुपर्नेमा जोड दिएका थिए ।

संवाद समुह लुम्बिनीका सहजकर्ता सुशील बस्नेतको सहजिकरणमा भएको कार्यक्रममा प्रदेशको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय भुमि ब्यवस्थापन शाखा प्रमुख अनिल मरासिनी, वन मन्त्रालयका प्रतिनिधि प्रभात सावकोटालगायतले आ आफ्नो भनाइ रखेका थिए ।

कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष तथा पदाधिकारी तथा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि,सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
 


Author

थप समाचार
x