लुम्बिनी

कालो झण्डा देखाउने मन्त्रीले सुइँको पाएपछि...

बिक्रम खड्का |
कात्तिक २, २०७७ आइतबार १२:२५ बजे

बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न प्रमुख अतिथि बनेर पुग्नै लागेका लुम्बिनी प्रदेशका उद्योग वन वातावरण मन्त्री लिला गिरी शनिबार बाटोबाटै फर्किए । उद्घाटन शिलालेखमा नाम लेखाएर अन्तिम समयमा मन्त्री नआएपछि आयोजक हडबडाए । तर आफूलाई कालो झण्डाले स्वागत गर्ने सूइँको पाएका मन्त्री गिरीले अफ्नो साटो प्रदेश सांसदलाई प्रतिनिधित्व गर्न लगाए । उता मन्त्रीलाई कालोझण्डा देखाउन सबै तयारी गरेका प्रर्दशनकारी स्थानीयवासीसमेत रहेका सांसदलाई कालो झण्डा देखाएर मन बुझाए ।

यसरी मन्त्री तथा संसादलाई कालोझण्डै देखाउनपर्ने कारण भने स्थानीय विवादले होइन । भर्खरै बुटवलवाट राजधानी सार्ने प्रस्तावमा मतदान गरेको भन्दै रुपन्देहीका सांसद र यहाँबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई कालोझण्डा देखाउने कार्यक्रम कांग्रेस रुपन्देहीले यसअघि नै तय गरेको थियो । सोही कार्यक्रम अन्तरगत कालोझण्डा र विरोध प्रर्दशन गरिएको कांग्रेसका नेता शेरबहादुर काफ्लेले बताए ।


मन्त्रीको सट्टा सो गाउँपालिकाको नवनिर्मित भवनको रिबन काट्न लुम्बिनी प्रदेशका नेकपाका सांसदलाई तुल्सीप्रसाद चौधरी पुगेका थिए । उद्घाटन गर्न पुगेका सांसद चौधरीलाई कालोझण्डा देखाइएको थियो । 
चौधरीले प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको र जनमतको अपमान गरेको भन्दै कांग्रेसले कालोझण्डा देखाएको कांग्रेसको आरोप छ । रुपन्देहीलाई घात गर्ने पदाधिकारीलाई प्रमुख अतिथि बनाएको भन्दै कांग्रेसका निर्वाचित जनप्रतिनिधिले समेत आफ्नै कार्यक्रम बहिस्कार गरेका थिए ।

कांग्रेसले भवनको उद्घाटनको विरोध नभई राजधानी सार्ने पक्षमा भोट हाल्ने नेकपाका सांसदको विरोध गरेको पनि स्पष्ट पारेको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x