लुम्बिनी

मुख्यमन्त्रीको प्रतिबद्धताविपरीत देउखुरीमा प्रदेशको स्थापना दिवस

बिक्रम खड्का |
माघ २६, २०७७ सोमबार १४:२१ बजे

फाइल तस्‍बिर

बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेशको तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिसकिएको देउखुरीमा मुख्यमन्त्री शंकर पोखरेलकै प्रस्तावमा फागुन २ देखि ४ सम्म प्रदेश स्थापना दिवस देउखुरीमा मनाउन लागिएको हो ।

प्रदेश सरकारले स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तारिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको छ । 


मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले दिवसको मुल समारोहसहितका कार्यक्रम फागुन ३ गते देउखुरीमा गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेशका १२ वटै जिल्लाहरूको सहभागिता हुने गरी स्थापना दिवसको तयारी गरिएको आन्तारिक मामिला तथा कानुन मनत्रालयका सचिव रविलाल पन्तले जानाकारी दिए । 

स्थापना दिवस देउखुरीमा गरिने भए पनि त्यसको सबै तयारी बुटवलबाटै गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादव प्रमुख अतिथि रहने कार्यक्रमको तयारी थालिएको हो । स्थापना दिवसको अवसरमा फागुन २ गते स्थानीय तहमा सरसफाईसंग सम्बन्धित कार्यक्रम, ३ गते विशेष समारोहका साथै विभिन्न व्यक्तिलाई पदक प्रदान एवं ४ गते प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षणमूलक कार्यक्रमको आयोजनासहित दिपावली गरिने कार्यक्रम तय गरिएको हो ।

गत असोज २० गते प्रदेशको स्थायी राजधानीको स्थायी टुङ्गो लगाएकै दिन मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधारहरू तयार नहुँदासम्म बुटवलबाटै राजधानीका काम कारबाही सञ्चालन हुने बताएका थिए । सभामा त्यस्तो प्रतिबद्धता ब्यक्त गरे पनि राजधानीको टुङ्गो लागेलगत्तै प्रदेशका कतिपय कार्यक्रमहरू देउखुरी केन्द्रित गर्न थालिएको छ । आफ्नै प्रतिबद्धताविपरीत मुख्यमन्त्रीले प्रदेशको स्थापना दिवस पनि देउखुरीमै मनाउन लागेको भन्दै कतिपय प्रदेश सदस्यहरू असन्‍तुष्‍ट छन् । उनीहरूरुले मुख खोलेर विरोध गर्ने अवस्था भने नभएको बताए ।


 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x