कर्णाली

तीन वर्षको अवधिमा दुर्घटनाका कारण कर्णालीका तीन सय ९२ जनाले ज्यान गुमाए

लक्ष्मी भण्डारी |
साउन ८, २०७९ आइतबार १८:४८ बजे

सुर्खेत- सवारी दुर्घटनाका कारण कर्णालीका झण्डै चार सय कर्णालीवासीले ज्यान गुमाएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षको अवधिमा तीन सय ९२ जनाले ज्यान गुमाएका छन् । जसमा दुई सय ६८ जना पुरुष र ७७ जना महिला रहेका छन् भने २५ बालक र चार बालिकाले ज्यान गुमाएका छन् । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९७, ०७७/७८ मा ९८ र आर्थिक वर्ष ०७८/७९ मा एक सय ९७ जनाले ज्यान गुमाएका छन् ।


दुर्घटनामा परि मृत्यु हुनेमा सबैभन्दा बढी १६-४० वर्ष उमेर समूहका बढी जोखिममा रहेको देखिन्छ भने सबैभन्दा कम ५५ वर्ष उमेरभन्दा माथिका मानिसको मृत्यु भएको देखिन्छ ।

प्रदेश ट्राफिक प्रहरीको तथ्यांक अनुसार बर्सेनि दुर्घटनाको संख्या बढ्दै गएको पाइन्छ । तीन वर्षको अवधिमा ९ सय २९ वटा दुर्घटना भएका छन् । २०७६/०७७ मा दुई सय ३६, २०७७/०७८ मा २९१ र २०७८/०७९ मा यो संख्या बढेर चार सय दुई पुगेको छ । यसरी बढी दुर्घटना हुनेमा मोटरसाइकल देखिएको छ ।

त्यसैगरी ट्रक, बस र जिप तथा अटो रहेको कार्यालयले जनाएको छ । सबैभन्दा बढी दुर्घटनाको कारण भने तीव्र गति तथा यान्त्रिक, ट्राफिक नियम उल्लंघन, सडकको अवस्था र लापरबाहीको कारणहरु देखिएको प्रदेश ट्राफिक कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । त्यसैगरी यहाँका साँघुरा सडकका कारण पनि दुर्घटनाको प्रमुख कारण बनेको पाइन्छ ।

प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई भौतिक श्रोत साधन सम्पन्‍न गराउनुका साथै ट्राफिक सचेतनामूलक कार्यक्रमहरुलाई नियमित तथा प्रभावकारी बनाउन नीतिगत रूपमा नै कार्यक्रम बजेटको विनियोजन हुने व्यवस्था मिलाइनु पर्ने आवश्यकता रहेको तिवारीको भनाइ छ ।


Author

थप समाचार
x