कर्णाली

यसकारण हाइस गाडी खरिद गर्दैछ कर्णाली प्रदेशसभा

लक्ष्मी भण्डारी |
साउन १२, २०७९ बिहीबार १६:४३ बजे

सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालयले ‘सांसदहरुलाई ओसार्ने प्रयोजन’का लागि हाइस गाडी  खरिद गर्दैछ । हाईस खरिदका लागि ८५ लाख रुपैयाँ स्वीकृत गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

‘गाडी किन्न रकम स्वीकृत भएको छ’ कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘अब सम्बन्धित मन्त्रालयबाट रकम खर्च गर्न अख्तियारी आउन बाँकी छ ।’
प्रदेशसभाले खरिद गरेको हाइस प्रदेशसभाको बैठक बसेको दिनमा सांसदलाई ओसार्नेका लागि प्रयोग गरिने जनाइएको छ । ‘हामीले खरिद गर्न लागेको हाइसले हाउस बसेको दिनमा सांसदलाई संसदसम्म ल्याउने लैजानेमा प्रयोग गर्छाै’ सचिव बुढाथोकीले भने, ‘सांसदहरु कतै भ्रमणमा जानुपर्ने भयो, अन्य प्रदेशमा भेला भयो भने त्यसलाई पनि हामी प्रयोगमा ल्याउँछौ ।’ 


बाहिर कही सांसदहरुलाई जानुपर्ने भएमा गाडीहरु भाडामा लिनुपरेको भन्दै सचिव बुढाथोकीले यसमा खर्चको कटौती हुने विश्वास व्यक्त गरे । ‘हाम्रा विषयगत समितिका सभापतिहरुलाई मात्र गाडी उपलब्ध छ । उनीहरुको गाडीमा प्रदेशका सबै सांसद अट्न सक्ने अवस्था पनि छैन’ बुढाथोकीले भने, ‘यसले काममा सहजता ल्याउनुको साथै खर्च पनि कटौती हुन्छ ।’ बैठक बसेको दिनमा बैठकको बाहेक छुट्टै यातायात खर्चको व्यवस्था गरिएकोले यसमा हाइस किन्दा दोहोरो सुविधा नजाने गरि पुनर्विचार गरिने उनले बताए । 

बर्षाको समय, यातायात बन्द भएको समयमा सांसदलाई दिइने यातायात खर्च मात्र व्यवहारिक नदेखिएकोले प्रदेश सभाले गाडी किन्ने निर्णय गरेको पनि उनले बताए । सांसदहरुलाई प्रदेश सभामा ल्याउने प्रयोजनका लागि मात्र नभएर अरु कुनै अवलोकन भ्रमण जस्ता महत्वपूर्ण काममा लैजान पनि आफ्नो गाडी भयो भने सहज हुने उनको भनाई छ । 

यसलाई कतिपयको बुझाई प्रदेश सभाको फजुल खर्च हो की भन्ने शंका लिएकाले यसमा सबैजना स्पष्ट हुनुपर्ने बताउँछन् । अहिले सांसदलाई संसद चलको दिनमा दिइने यातायात खर्चका बारेमा सचिव बुढाथोकीले भने, ‘यसमा की यातायात खर्च बढाउनुपर्यो, या त यातायात खर्च घटाएर गाडी किन्नुपर्‍यो अन्य प्रदेशहरुले गाडी किनिसकेका छन् हामीले अहिले सुरुवात गर्न लागेका हौ ।’

कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको  पारिश्रमिक​ र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा पदाधिकारी र सदस्यको लागि विभिन्न सेवा सुविधा तोकिएको छ । उल्लेखित सेवा सुविधामध्ये बैठक बसेको दिनको बैठक भत्ता र यातायात खर्च पनि पर्छन् । विधेयकमा बैठक बसेको दिनमा बैठक भत्ता वापत ७५०  दिने उल्लेख छ । अहिले यो बढेर १ हजार पुगिसकेको छ । यसका अतिरिक्त बैठक बसेको दिन प्रदेश सभाका सदस्यहरुले यातायात खर्चवापत् ५०० रुपैयाँ पनि पाउने विधेयकमा उल्लेख छ ।


Author

थप समाचार
x