कर्णाली

स्ववियु निर्वाचन: कर्णालीका ३५ क्याम्पसमध्ये १६ मा अखिल क्रान्तिकारीको नेतृत्व

इकागज |
चैत ७, २०७९ मंगलबार १६:३४ बजे

सुर्खेत - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत नतिजा आएका ३५ क्याम्पसमध्ये अखिल क्रान्तिकारीको वर्चस्व रहेको देखिएको छ ।  प्रदेशमा माओवादी निकट अखिल क्रन्तिकारीले १६ वटा क्याम्पसमा नेतृत्व जित्न सफल भएको छ । यस्तै नेपाली कांग्रेसनिकट नेविसंघले १२ र नेकपा एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा विजय हासिल गरेको छ । एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेशभर ३९ वटा क्याम्पसहरु रहेका छन् । जसमध्ये १७ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । 

यस्तै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित तीन वटामा विवादका कारण चुनाव हुन सकेको छैन । मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियु निर्वाचन हुन नसकेको हो ।


मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रुकुम पश्चिमको मुसिकोटमा उच्च अदालतमा रिट परेका कारण चुनाव हुन नसकेको हो । यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा निर्वाचन हुन सकेको छैन । क्याम्पस प्रशासनका अनुसार निर्वाचनका लागि कुनै पनि विद्यार्थी संगठनले दल दर्ता गराएका छैनन् । 

त्यसैगरी दैलेखमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीच मतभेदका कारण चुनाव हुन नसकेको हो । यस क्याम्पसमा चैत १२ गते निर्वाचन गराउन क्याम्पसले सूचना जारी गरेको छ । 


Author

थप समाचार
x