कर्णाली

गरिब प्रदेशका धनी मन्त्री, कर्णालीका मन्त्रीहरूमा कसको कति सम्पत्ति ?

लक्ष्मी भण्डारी |
चैत १५, २०७९ बुधबार १४:३५ बजे

सुर्खेत । गरिब प्रदेशको पर्यायका रुपमा लिने गरेको कर्णालीलाई यहाँका मन्त्रीहरु भने धनी रहेको पाइएको छ । सामान्य आधारभूत आवश्यकतासमेत पाउन समेत मुस्किल पर्ने यहाँका नागरिकहरुको बाध्यता रहेको यस प्रदेशका मन्त्रीहरु भने धनी रहेका छन् ।

उनीहरुको प्रदेश र संघका राजधानीमा घडेरी अनि प्रसस्त सुनचाँदी रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । कर्णाली प्रदेशका ६ मन्त्री र एक राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 


सम्पत्ति सार्वजनिक गरेका ६ वटै मन्त्रीहरूमध्ये आर्थिक मामिला तथा योजनामन्त्री विनोद शाहको सम्पत्ति सबैभन्दा धेरै देखिएको छ । शाहको काठमाडौमा घर, घडेरी, गाडी तथा सुन तथा बहुमुल्य रत्न हिरा रहेको उल्लेख गरेका छन् । शाहको श्रीमती लक्ष्मीदेवी शाहको नाममा भक्तपुरको सूर्यविनायक गाउँपालिका–६ मा ४८ लाख मूल्यको घडेरी रहेको विवरण छ । उनकै नाममा काठमाडौंको बूढानीलकण्ठमा ७५ लाख मूल्य पर्ने २ तलाको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त रकम ऋण गरेर खरिद गरिएको उल्लेख छ । घडेरी पैतृक सम्पत्तिबाट खरिद गरिएको शाहले जनाएका छन् । 

यस्तै ५० रोपनी पैतृक जग्गा, दैलेखको आठबीस नगरपालिका–४ राकम दैलेखमा १० लाख मूल्य बराबरको एक सय ८५ वर्ग मिटर क्षेत्रफलको जग्गा र २५ तोला सुनका गहना रहेको उनले बुझाएको विवरणमा छ । शाहले  सार्वजनिक गरेको सम्पती विवरणमा ५० तोला सुन, १५ तोलाको हीराको हार र १५ सय तोला चाँदीका भाँडा रहेका छन् । 

हीराको हार छोरीले अस्ट्रेलियाबाट उपहार दिएको र यी सुनचाँदीका गरगहना पैतृक सम्पत्ति, छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको र शाहले बताएका छन् । शाहको नाममा २ बैंकमा २० हजार रुपैयाँ मौज्दात छ । ८६ लाख ऋण र १६ लाख मूल्यको टोप्रा प्राडो गाडी छ ।

सामाजिक विकासमन्त्री टेकराज पछाइको सार्वजनिक गरेको सम्पत्ति विवरणमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ मा एउटा पुरानो घर रहेको छ । यस्तै उनको पैत्तिक सम्पत्तिको रुपमा कनकासुन्दरी–६ मा १४ हजार एक सय ३२ वर्गमिटरमा फैलिएको जग्गा छ । मन्त्री पछाइको बर्दियाको राजापुर नगरपालिका–२ मा १ बिघा जमिन रहेको उल्लेख छ । उक्त जमिन व्यापार गरी खरिद गरेको बताएका छन् । उनीसँग १५ तोला सुन र २० तोला चाँदी छ । उनको  आफ्नो र परिवारको नाममा गरी पाँच वटा बैंकमा ७ लाख ५० हजार रकम मौज्दात छ ।

यस्तै विभिन्न कम्पनीमा १७ लाख ५० हजार बराबरको सेयर लगानी रहेको छ । उनी आफू सेयर रहेका मध्ये तीन वटामा संस्थापक नै रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा मोटरसाइकल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सम्पत्ति विवरणमा वीरेन्द्रनगरको लाटीकोइली र जर्वुटामा ३ वटा घडेरी रहेको उल्लेख गरेका छन् । जिसीले पैतृक सम्पत्ति र ४ लाख ऋणबाट जग्गा खरिद गरेको उल्लेख गरेका छन् । उनीसँग पाँच तोला सुन र १० तोला चाँदी छ । उनले सुन बाबुआमाबाट प्राप्त गरेको र चाँदी श्रीमतीको माइतीबाट ल्याएको उल्लेख गरेका छन् । मन्त्री जिसीको दुई वटा बैंकमा ६५ हजार रकम मौज्दात छ । जिसीको नाममा चिंगाड कृषि तथा पशुपालन फार्म पनि छ । आफू र श्रीमतीको गरी ३ वटा कम्पनीमा ४ लाख ३७ हजार बराबरको शेयर लगानी रहेको पनि उनले उल्लेख गरेका छन् । उनले ११ लाख ६९ हजार बराबरको ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले बाँकेको कोहलपुरमा दुईवटा घर रहेको बताएका छन् । जुन् २०५९ सालमै खरिद गरेको जनाएका छन् । त्यसैगरी १० लाख नगद , पाँच तोला सुन र पाँच तोला नै चाँदी रहेको उल्लेख गरेका छन् ।

यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्माले बुझाएको सम्पत्ति विवरणमा सल्यान बागचौरमा चार लाख ५० हजार मूल्य बराबरको पुरानो घर रहेको जनाएका छन् ।
 


Author

थप समाचार
x