कर्णाली

कर्णालीमा प्राकृतिक विपत्तिले लिन्छ धेरैकाे ज्यान

लक्ष्मी भण्डारी |
जेठ १, २०८० सोमबार १७:५८ बजे

फाइल तस्बिर

सुर्खेत- गएको असोजको अन्तिम साता कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १३ जनाको मृत्यु भयो । स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जनाको बाढीमा परेर ज्यान गयो । यतिसम्मकी छोराको लास चितामा जल्दै गर्दा बुवाको बाढीमा परी ज्यान गएको स्थानीयवासीले जानकारी दिए । सोही समयमा जुम्लामा पनि पहिरोमा परी एकै घरमा पाँच जनाको ज्यान गएको थियो ।

गत बुधबार दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा भएकाे आगलागीमा परी स्थानीय ५५ वर्षीय भैरव विकको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भयाे । उक्त आगलागीको घटनामा अन्य १२ जना घाइते भए ।


२२ वैशाखमा मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भयो भने दुई जना बेपत्ता छन् । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बाक्लो हिउँ परेका कारण बेपत्ताको खोजीमा भने कठिनाइ भयो ।

प्राकृतिक विपद्का पछिल्ला प्रतिनिधि घटना मात्र हुन् । कर्णाली प्रदेशमा यस्ता विपद्मा परेर बर्सेनि सयौंको संख्यामा ज्यान जाने गरेको छ । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी पहिरो, बाढी र आगलागीका कारण जनधनको क्षति हुने गरेको छ ।

प्राकृतिक विपत्तिबाट कर्णालीमा ठूलो मानवीय क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक विपत्तिबाट ८५ जनाले ज्यान गुमाएका थिए । एक सय सात जना घाइते भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ६८ जनाको मृत्यु भयो भने ७३ जना घाइते भए । चालु आर्थिक वर्ष २०७९/०८० मा विपद्का कारण ६५ जनाको मृत्यु भइसकेको छ । यसैगरी एक सय दश जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशमा बर्सेनि विपद्का घटना बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार दुई सय १५ वटा विपद्का घटना भएका थिए । चालु आर्थिक वर्षमा विपद्का घटनामा दोब्बरले वृद्धि भएको छ । यो वर्ष दुई हजार एक सय ५५ वटा घटना भएका छन् ।

यो वर्ष पहिरोका कारण तीन सय ४८ वटा घटना भएका छन् । जसबाट ३८ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । चालु आर्थिक वर्षमा ३१ वटा बाढीका घटना भएका छन् । बाढीबाट चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ८६ वटा आगलागीका घटना भएका छन् । जसबाट सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यसैगरी चट्याङका ३३ वटा घटना भएका छन् । तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

पछिल्ला वर्षमा पहिरोबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिका घटनामा वृद्धि भएको आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायले बताए । उनले कर्णाली प्रदेश विपद्को जोखिममा रहेको बताए । प्रदेशमा भएका विपद्का घटनामध्ये अधिकांश पहिरोका घटना रहेको रोकायले बताए ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा वर्षाका कारण एक हजार ६ सय ३५ वटा घटनामध्ये तीन सय ४८ वटा पहिरोका रहेको बताए । प्रदेशभर पहिरोका कारण ६५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी विपद्मा परी २८ जना बेपत्ता भएका छन्, जसमध्ये अधिकांश पहिरोका कारण बेपत्ता रहेकाे उनले बताए । 

रोकायले प्रदेशमा विपद् पूर्वतयारीको विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेको जनाए । ‘विपद् पूर्वतयारीका विभिन्न बैठकहरू सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘यसका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेका छौँ ।’

विपद्को सन्दर्भमा केन्द्र सरकारले अन्य प्रदेश सरह नै व्यवहार भइरहेको भन्दै कर्णालीलाई विशेष कार्यक्रममा जोड दिनुपर्ने उनले बताउँछन् । ‘अन्य प्रदेशको तुलनामा कर्णाली विपद्का दृष्टिकोणले बढी जोखिममा छ,’ रोकाय भन्छन्, ‘तर, केन्द्रले अन्य प्रदेश सरह नै कर्णालीलाई पनि व्यवहार गरिरहेको अवस्था छ ।’


Author

थप समाचार
x