कर्णाली

कर्णाली सरकारमा जाने तयारीमा कांग्रेस

लक्ष्मी भण्डारी |
जेठ १०, २०७८ सोमबार १६:३१ बजे

फाइल तस्‍बिर

सुर्खेत: कर्णालीमा नेपाली काँग्रेस सरकारमा जाने तयारीमा रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेसले एक महिनापछि सरकारमा जाने तयारीमा रहेको छ । आठवटा मन्त्रालयमध्ये अहिले दुई वटा मन्त्रालय रिक्त रहेका छन् । खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा काँग्रेस सहभागी हुन लागेको हो । 

नेपाली काँग्रेसका प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ जना सांसदमध्ये दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीको नाम मन्त्रीको चर्चामा रहेको छ । यता काँग्रेस संसदीय दलका नेता जिवनबहादुर शाहीले सरकारमा सहभागी हुने विषयमा मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए । ‘सरकारमा सहभागीको विषयमा मुख्यमन्त्रीसँग छलफलमा बसेका छौ’ नेता शाहीले भने ।


यसअघि मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि नेपाली काँगे्रस सरकारमा सहभागी भएको थिएन । जसको कारण तीन जना मन्त्रीको शपथ पनि रोकिएको थियो । वैशाख तीन गते विश्वासको मत पाएर आफ्नो पद जोगाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेका एमाले माधव समूहका तीन जना  सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए । 

जसमा भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा कु्रमराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढालाई नियुक्त गरेका थिए । त्यसयता आन्तरिक मामिला युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका छन् ।
 


Author

थप समाचार
x