कर्णाली

शिक्षक पदपूर्ति विवाद

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तालाबन्दी

उपप्रमुख भन्छन् : आर्थिक चलखेल भएपछि परीक्षा रोकेको हुँ

लक्ष्मी भण्डारी |
भदौ १०, २०८० आइतबार १९:१६ बजे

सुर्खेत- रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा शिक्षक पदपूर्तिको विषयलाई लिएर विवाद बढेको छ । उपप्रमुख बिमलकुमार पुनले आफ्नै नगर शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

नगर प्रमुख महेन्द्र केसीलाई सात बुँदे माग पेस गरेर नगरपालिकाको मूल गेटमा ताला लगाई कालो ब्यानर टाँसिएको छ । मुसीकोट–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्त गर्नका लागि हिजो नगरपालिकामा परीक्षा कार्यक्रम सुरु गर्न थाल्दा उपप्रमुख पुनले शिक्षा शाखाका निमित्त प्रमुख ओलीमाथि हातपात गर्नुका साथै गालीगलौजमा उत्रिएको कर्मचारीहरूले बताएका छन् ।


पालिकामा विवाद बढेपछि परीक्षाको कार्यक्रम स्थगित गरिएको थियो । आज विहानदेखि नै पालिकामा तालाबन्दी गरिएको सूचना अधिकारी कुवेर केसीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले उक्त घटनाको विरोधस्वरूप कार्यालयको सेवा ठप्प पारेको प्रमुख केसीले बताए ।

यता नगरपालिकाका उपप्रमुख पुनले कर्मचारीमाथि हातपात गरेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । पुनले नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात गरेको विषय झुट रहेको बताएका छन् ।

आज तोकिएको त्रिभुवन जनता मावि खलंगाको शिक्षक र कृषि प्राविधिकको परीक्षा रोक्न भनेको तर शाखा प्रमुख ओलीमाथि हातपात नगरेको उनले बताए । आर्थिक चलखेलको व्यापक जनगुनासो आएको र परीक्षा संचालनका विषयमा आफूलाई कुनै जानकारी नभएकोले परीक्षा रोक्न अनुरोध मात्र गरेको उनको भनाइ छ ।

‘नगरपालिकाले शिक्षक, कर्मचारी नियुक्ति गर्ने प्रक्रियामा नागरिकहरूको जनगुनासो छ, लाखौं पैसा लिएर शिक्षक, कर्मचारी राख्ने गरिएको गुनासो व्यापक रूपमा छ,’ उपप्रमुख पुनले भने, ‘पालिकाबाट हुने पदपूर्ति तथा परीक्षाहरू म पालिकामा नभएको बेलामा सञ्चालन गर्दै आएका हुन्छन्, यसमा आर्थिक चलखेल गरेको गुनासो पनि आइरहेको छ, परीक्षा रोक्नुहोस् यसमा थप छलफल आवश्यक छ भन्दा उहाँहरूले मान्नु भएन, त्यसपछि म केही ठूलो स्वरले बोलेको त हुँ तर हातपात भने गरेको होइन ।’ आर्थिक चलखेल र आफ्ना मान्छेहरूलाई अवैधानिक रूपमा नियुक्त गर्नका लागि परीक्षा संचालन गर्न लागिएको उनले आरोप लगाए ।

उनले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरूको मिलेमतोमा एकलौटी रूपमा कर्मचारी र शिक्षक नियुक्ति भइरहेको आरोप लगाए । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको बोर्ड छ, केही गर्नु परेमा त्यही बोर्डमा छलफल गर्ने भनिएको भएता पनि आफूलाई खबर नगरेको उनकाे भनाइ छ । 


Author

थप समाचार
x