कर्णाली

जाजरकोट भूकम्प : महिला र बालबालिका बढी जोखिममा

लक्ष्मी भण्डारी |
कात्तिक २३, २०८० बिहीबार १७:७ बजे

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका–६ की १९ वर्षीया जमुना बुढा मगर भूकम्पले घर भत्किँदा घाइते भइन् । उनलाई उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरबाट बिहान नेपालगन्जको भेरी अस्पताल पुर्याइयो । अस्पतालमा उनले आठ महिनाको मृत बच्चालाई जन्म दिइन् । पहिलो सन्तान गुमाउनु मात्र होइन पति पनि गुमाउनुपर्दा अझ समस्यामा छिन् उनी ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ की ३४ वर्षीया बिना केसी पनि गर्भवती छिन् । यस बेला उनले आराम गर्नुपर्ने र पोषिलो खाना पाउनुपर्ने हो । तर, चिसो भुईँमा त्रिपालभित्र कष्टकर गुजारा गर्दै आएकी छन् ।


गर्भवती मात्र होइन दूधे बच्चा र आमाहरू पनि याे समय समस्यामा छन् । पोषिलो खानाको अभावमा बच्चाका लागि राम्रोसँग दूध नआएको सोही गाउँकी मनिसा खत्री बताउँछिन् । ‘चिसोले गर्दा बच्चालाई खोकी लागिरहन्छ, शरीर सुन्निन्छ,' उनले भनिन्, ‘आफूलाई त जसोतसो भइहाल्थ्यो बच्चालाई बचाउनै समस्या छ ।’

गएको शुक्रबार मध्यराति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुमका नागरिकहरू मारमा परेका छन् । प्रभावित जिल्लाका गर्भवती, सुत्केरी महिला र बालबालिकाहरू यति बेला कष्टकर जीवन बिताइरहेका छन् ।

जाजरकोटका भूकम्प पीडितमध्ये महिला र बालबालिका बढी जोखिममा रहेकाे देखिएकाे छ ।  जसमा गर्भवती तथा सुत्केरी महिलाहरूलाई अझ बढी समस्या परेकाे छ । चिसोयामसँगै त्रिपालमुनि कष्टकर रात काट्न बाध्य छन् उनीहरू ।

यी दुई जिल्लामा भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या धेरै छ । एक सय ५३ मृतकमध्ये ७८ जना मात्र बालबालिका छन् । प्रहरीको तथ्यांक अनुसार जाजरकोटमा ५६ महिला र ४५ पुरुष, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।


Author

थप समाचार
x