कर्णाली

कर्णालीमा कांग्रेसका मन्त्रीलाई १३ बुँदे आचारसंहिता

लक्ष्मी भण्डारी |
जेठ २३, २०७८ आइतबार ९:५८ बजे

सुर्खेत : नेपाली काँग्रेस कर्णाली प्रदेशले सरकारमा सहभागी हुने मन्त्रीहरुका लागि आचारसंहिता जारी गरेको छ । कर्णाली प्रदेश सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले उनीहरुका लागि आचारसंहिता जारी गरेको हो । कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्वन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ । यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । यस्तै मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।


सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकहरुप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ । ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ’ आचारसंहितामा भनिएको छ, ‘कानुनले बर्जित गरेका कुनैपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन् ।’

बैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेस झण्डै दुई महिनापुग्नै लाग्दा सरकारमा सहभागी हुन लागेको हो । सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुदलाई अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएपछि कांग्रेस सत्तामा गएको थिएन । बिहीबारको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदलाई सामाजिकमै ल्याउने निर्णय गरेपछि कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीवीकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु सम्बोधन गर्न, शुखी, समृद्ध र सम्मुनत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने निर्णय भएको बताए ।

‘हाल देखा परेको कोरोना महामारी नियन्त्रण र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको सम्बोधनका लागि महेन्द्रबहादुर शाही नेतृत्वमा सहभागी हुने निर्णय गरेका छौं’ शाहीले भने, ‘दलको निर्णयका आधारमा दुई जनाको नाम शनिबार सिफारिस गरिएको हो ।’ आइतबार मन्त्रीहरुले सपथसँगै पदभार ग्रहण गर्ने भएका छन् । 

कर्णाली सरकारमा मुख्यमन्त्री सहित माओवादी केन्द्रबाट तीन जना र एमालेबाट फ्लोर क्रस गरेर शाहीलार्ई विश्वासको मत दिएका तीन जना छन् । काँग्रेस सरकारमा सहभागी भएपछि कर्णालीमा मन्त्रालयको संख्या आठ पुग्नेछ । ४० सदस्यीय प्रदेशसभामा हाल ३५ सांसद छन् । पार्टी ह्वीप उलंघन गरेका एमालेका चार र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका एक जनाको सांसद पद गएको छ । 
 


Author

थप समाचार
x