कर्णाली

मंसिर १५ पछि मात्र कर्णाली सरकार विस्तार हुने

लक्ष्मी भण्डारी |
मंसिर ५, २०७८ आइतबार १३:४९ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १५ पछि मात्र सरकारलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिईसकेपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

 मंसिर १४ गते विश्वासको मत लिन लागेका मुख्यमन्त्री शाहीले त्यसपछि मात्र सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले जानकारी दिए । 


‘गठबन्धनको सरकार भएका कारण पहिला विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ’ दलका सचेतक शाहीले भने, ‘मंसिरको १६ या १७ गतेसम्म मन्त्रिपरिषद् विस्तारको काम हुन सक्छ ।’ मन्त्रीपरिषद् विस्तारका लागि छलफल भइरहेको उनले बताए । 

अहिले कर्णाली प्रदेशको मन्त्रिपरिषदमा मुख्यमन्त्री र एक जना मन्त्री मात्र छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले कात्तिक ३० गते एक जना मन्त्री नियुक्त गरेका थिए । 

नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्रिपरिषद्लाई पूर्णता दिनेक्रममा बाँकी रहेका मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बन्ने भन्ने विषयमा टुंगो पनि नलागेको सचेतक शाहीले बताए ।

 मुख्यमन्त्रीले विश्वासको मत लिईसकेपछि नै यो विषयमा टुंगो लगाईने शाहीको भनाई थियो । कर्णाली प्रदेशमा सत्ता साझेदार दलमध्ये नेकपा माओवादी केन्द्रले भने चार मन्त्रालयको दाबी गरिसकेको छ । शुक्रबार बसेको नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको वैठकबाट नै चार वटा मन्त्रालय लिने निर्णय गरेको हो । नेकपा समाजवादीले पनि आन्तरिक रूपमा तीन वटा मन्त्रालयको दाबी गरेको छ । काँग्रेसले पनि मुख्यमन्त्री बाहेक दुई मन्त्रालय लिने दाउमा छ । 

 मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिन लागेका छन् । यसका लागि प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको अधिवेशन पनि आव्हान गरिसकेका छन् । प्रदेशसभा सचिवालयले पनि मंसिर १४ गते दिउँसो १ बजेका लागि बैंठक आव्हान गरिसकेको छ । 

यता सत्ता साझेदार दल माओवादीले भने दलका नेतासँग छलफल विना अधिवेशन बोलाइएको भन्दै असन्तुष्टि जनाएको छ । आफूहरुलाई जानकारी नै नदिई अधिवेशन बोलाईएको नेकपा माओवादी संसदीय दलका सचेतक ठम्मर विष्टले बताए । 


Author

थप समाचार
x