कर्णाली

कर्णालीमा कोभिड–१९ को निःशुल्क परीक्षण हुने

लक्ष्मी भण्डारी |
कात्तिक ८, २०७७ शनिबार १९:२४ बजे

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोभिड–१९को परीक्षण निःशुल्क गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोििभडको लक्षण देखिएका बिरामीको पीसीआर परीक्षणनिःशुल्क गर्ने निर्णय गरेको हो । 

संघीय सरकारले संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने भनिए पनि कर्णाली सरकारले भने निःशुल्क उपचार गरिदिने निर्णय गरेको छ । बैठकले कोभिड परीक्षण, क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन कक्ष र भाइरस नियन्त्रण तथा रोकथामका लागि जनशक्ति व्यवस्थापन समेतको बजेट बाँडफाँड गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 


कर्णाली सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार  ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान’ स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्ने निर्णय गरेको छ । 

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त प्रतिष्ठान गठन आदेशबाट स्थापना गर्न खोजे पनि मन्त्रिपरिषद्ले फिर्ता पठाएको थियो । त्यसैगरी शनिवार बसेको मन्त्रीपरिषद्कोे बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्नका लागि नेपाल नागरिक उड्यन प्राधिकरणबीच भएको समझदारी अनुमोदन गर्ने निर्णय गरेको छ । त्यसैगरी सुर्खेतको वीरेन्द्रनगरमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार गर्न स्वीकृति गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गर्नेसम्बन्धी निर्णय समेत गरेको छ ।

बैठकले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभा पेस गर्ने निर्णय गरेको छ । यस्तै कर्णाली प्रदेशमा प्रयोगशाला सहितको अर्गानिक कृषि विकास तथा अनुसन्धान केन्द्र स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाउने निर्णय गरेको छ । 
 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x