कर्णाली

गुर्भाकोट कांग्रेस : दीर्घरोगीलाई निःशुल्क उपचारदेखि एकल पुरुषलाई रोजगार

लक्ष्मी भण्डारी |
बैशाख २३, २०७९ शुक्रबार १४:५७ बजे

सुर्खेत– स्थानीय तहको चुनाव नजिकिएसँगै गुर्भाकोट कांग्रेसले पनि आफ्ना उम्मेदवारको साथ घरदैलो कार्यक्रमलाई जोड दिएको छ । उम्मेदवारहरु आफ्ना घोषणापत्रको साथ नागरिकहरु माझ गएर मत मागेको नगरपालिकाका मेयरका उम्मेदवार हस्त पुनले बताए । 

गुर्भाकोट कांग्रेसले आफ्नो घोषणापत्रमा गुणस्तरीय शिक्षा स्वास्थ्यदेखि सीमान्तकृत समुदायको जिवन स्तर माथि उठ्ने खालका विभिन्न कार्यक्रमहरु अघि सारेको छ । घोषणापत्रमा दीर्घरोगीलाई निःशुल्क उपचारदेखि एकल पुरुषलाई  रोजगार तथा सीपमुलक सम्मका कार्यक्रम घोषणापत्रमा समावेश गरेको छ । 


असक्त, सुत्केरी र दीर्घरोगीलाई प्रभावकारी सेवा प्रदान गर्ने जेष्ठ नागरिक भत्ता सहज रुपमा उपलब्ध गराउने, तरकारी तथा फलफूलको संकलन केन्द्र स्थापना गर्ने वडा एक कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि शुलभ ब्याजदरमा कृषि कर्जा प्रवाह गर्ने, नगर क्षेत्रमा उत्पादन भएका वस्तुहरुको प्रर्दशन तथा प्रर्वद्धनका लागि कृषि मेला तथा हाट बजारको व्यवस्था, खाद्य सुरक्षाको लागि उन्नत पोषण र दीगो कृषिमा जोड दिइने छ’ घोषणापत्रमा भनिएकाे छ, ‘नगरपालिकालाई प्रदेशकै अर्गानिक हव बनाउने, जडिबुटी तथा तरकारी र फलफूलको पकेट क्षेत्र बनाई कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।’

यस्तै नगर क्षेत्रका द्वन्द्वपीडित र अनाथ बालबालिकाका लागि कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिनुका साथै हरेक वडामा एक, एक वटा अगुवा विद्यालयको कार्यक्रम अघि बढाउने कार्यक्रम रहेको छ । निम्न वर्गका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने, सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधाको पहुँच पुर्‍याउने, नगरमा सार्वजनिक पुस्तकालय निर्माण गरि सञ्चालन गर्ने, आगामी पाँच वर्षभित्र नगरका सामुदायिक विद्यालयलाई अध्ययनका लागि विद्यार्थीको मुख्य आकर्षणको केन्द्रका रुपमा विकास गरिने घोषणापत्रमा भनिएको छ । 

‘गुणस्तरीय एवम् प्रभावकारी स्वास्थ्य सेवाको प्रवद्र्धन गरिने, नगरपालिकाको भूगोल र जनसंख्याको आधारमा नगर अस्पताल निर्माण गरिनुको साथै एम्बुलेन्सको व्यवस्थापन गर्ने, प्रवद्र्धनात्मक स्वास्थ्य सेवाका लागि विद्यालय नर्स कार्यक्रम सञ्चालन गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘स्वयंसेविकालाई खाजा र पोशाक मासिक रुपमा उपलब्ध गराउने, नगरभित्र सुविधासम्पन्न  र दक्ष जनशक्तिबाट प्रसुति गराउनुका साथै बाहिर लैजानुपर्ने भएमा पनि प्रसुति केन्द्रसम्म लैजान एम्बुलेन्स उपलब्ध गराइने छ । ’ दीर्घ रोग तथा मानसिक समस्याबाट ग्रसित व्यक्तिलाई उपचार र स्याहार खर्च उपलब्ध गराइने मेयरका उम्मेदवार पुनले बताए ।  

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्नुका साथै विपन्न नागरिकको निःशुल्क बीमा गरिदिने, पालिका स्तरमा आयुर्वेद, युनानी तथा होमियोप्याथि, एक्युपञ्चरजस्ता वैकल्पिक चिकित्सा केन्द्रहरुको स्थापना, विपन्न विरामीहरुको उपचारको लागि कोष स्थापना गरि निःशुल्क उपचारको व्यवस्था गरिने घोषणापत्रमा बताइएको छ ।

‘सबै वडा केन्द्रलाई छुनेगरि सडक निर्माण, नगरभित्र गोचेखोला, कुर्मीखोलालगायतका स्थानहरुमा पक्की पुल निर्माण गर्ने, नगर क्षेत्रभित्र बस्ने घरविहीन व्यक्तिको पहिचान गरि घर निर्माण गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘सुविधासम्पन्न कर्वडहलको निर्माण, सुकुम्बासीलाई पुर्जा उपलब्ध गराउने । मुख्य बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिने, नगर क्षेत्रमा शन्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालयको  साथै प्रहरी चौकीको विस्तार गरिने छ ।’ यस्तै नगरभित्रका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनको लागि आवश्यक सडक तथा पूर्वाधार जस्ता सुविधा सम्पन्न गराउने, नगरमा अत्याधुनिक खेलमैदानको व्यवस्था गरिनुका साथै नगरभित्र साना, ठूला तथा मझौला खालका सिचाई आयोजनाहरु सञ्चालन गरिने बताइएको छ ।  

‘महिला हिंसामुक्त नगरपालिका घोषणा गर्न ठोस् योजना बनाई कार्यान्वयन गर्ने, एकल महिला र पुरुष तथा सीमान्तकृत समुदायलाई आयआर्जनमुलक कार्यक्रम सञ्चालन गर्नुका साथै रोजगारमुलक कार्यक्रम सञ्चालन गरिनेछ’ घोषणापत्रमा उल्लेख छ, ‘जेष्ठ नागरिकहरुको लागि जेष्ठ नागरिक मिलन केन्द्रको व्यवस्था, नगरपालिकामा विद्युतीय शवदाहगृह निर्माण गरिनेछ ।’ 
 


Author

थप समाचार
x