सुदूरपश्चिम

कैलाली–१ मा चौधरी र रावलले रोक्न सक्लान् रेशम पत्नी रञ्जितालाई

दीपक उपाध्याय |
कात्तिक १५, २०७९ मंगलबार १७:२१ बजे

कैलाली । कैलाली, कञ्चनपुरसहित तराईका केही जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै सुरु भएको थरुहट आन्दोलन सशक्त बन्दै थियो । संविधान जारी हुनु एक महिनाअघि ७ भदौ, २०७२ मा थरुहट पक्षले टीकापुरमा वृहद जनप्रदर्शन गर्‍याे । प्रदर्शनले हिंसात्मक झडपको रुप लिँदा आठ प्रहरी र एक नाबालकसहित नौ जनाले ज्यान गुमाए  ।

टीकापुरमा थरुहट आन्दोलनको अगुवाइ गरिरहेका थिए, थारु नेता रेशम चौधरीले । घटनापछि उनी फरार भए । फरार अवस्थामै २०७४ को चुनावमा रेशम कैलाली क्षेत्र नम्बर १ बाट तत्कालीन बाम गठबन्धनका उम्मेदवारविरुद्ध करिब २१ हजार मतको भारी अन्तरले विजयी भए । निर्वाचित भएको तीन महिनापछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी टीकापुर घटनामा दोषी ठहर भइ आजीवन कारावासको सजाय भोगिरहेका छन् ।


पाँच वर्षयता प्रतिनिधिसभामा जनप्रतिनिधिविहीन रहेको यो क्षेत्र अहिले चुनावी चासोको केन्द्रमा छ । रेशम भारी मतान्तरसहित निर्वाचित भएको क्षेत्र नम्बर १ मा यसपालि उनकी पत्नी रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी छन् । जेलमा रहेका रेशमको अग्रसरतामै रञ्जिताको अध्यक्षतामा गत वर्ष नागरिक उन्मुक्ति पार्टी गठन गरिएको थियो ।

यो क्षेत्रमा श्रेष्ठसँगै गठबन्धनका तर्फबाट काँग्रेस नेता एवम् पूर्वमन्त्री रामजनम चौधरी र एमालेबाट टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । रञ्जिताले आफूलाई रेशमको प्रतिनिधिका रुपमा उभ्याएकी छन् । नागरिक उन्मुक्ति पार्टीले थारुसहित पिछडिएको समुदायको अधिकारसँगै टीकापुर घटनालाई चुनावी मुद्दा बनाएको छ । रञ्जिताले टीकापुर घटनामा निर्दोषलाई राज्यले जेल हालेको दावी गर्दै यसलाई आफूले चुनावी मुद्दा बनाएको बताइन् ।

‘टीकापुर घटनालाई लिएर रेशमसहित केही साथीहरु माथि राज्यबाट अन्याय भएको यहाँका मतदाताले बुझेका छन् । त्यो अन्यायविरुद्ध आवाज उठाउन हामी चुनाव लड्न लागेका हौँ ।’ उनले भनिन्, ‘रेशमजीको प्रतिनिधिका रुपमा म चुनावमा होमिएकी हुँ ।’ पिछडिएको वर्गको अधिकारकै लागि आफ्नो पार्टीले गठन भएकाले मतदाताले आफूलाई विश्वास गर्ने रञ्जिताको विश्वास छ । बर्दियाबाट चुनाव लड्न चाहेका रेशमको उम्मेदवारी भने आयोगले अस्वीकृत गरेको छ ।

गठबन्धनबाट काँग्रेसका उम्मेदवार रामजनम चौधरीको पनि यो क्षेत्रमा बलियो प्रभाव छ । उनी यसअघि तत्कालीन क्षेत्र नम्बर २ र ३ बाट २०४८, ०५१, ०५६ र ७० मा निर्वाचित भएका थिए । गठबन्धनको सहमतिअनुसार क्षेत्र नम्बर ३ माओवादीको भागमा परेपछि चौधरीले क्षेत्र नम्बर १ बाट टिकट पाएका हुन् । यो क्षेत्रमा उनको बलियो प्रभाव रहेको जोशीपुर गाउँपालिका तथा भजनीका दुई वटा वडा पर्छन् ।

एमालेका रावल टीकापुर नगरपालिकाका निवर्तमान मेयर हुन् । उनी मेयर हुँदा नगरको विकासका लागि गरेको कामलाई आधार बनाएर एमालेले मत माग्दैछ । यहाँ थारुसँगै अछामबाट बसाइ सरी आएका मतदाताको बाहुल्यता छ । थारु मतदाताको संख्या बढी रहेकाले काँग्रेसले नागरिक उन्मुक्तिलाई टक्कर दिन थारु समुदायकै नेतालाई अघि सारेको हो ।

त्यस्तै प्रदेश सभा क्षेत्र २ मा द्धारिका न्यौपाने उम्मेदवार बनाएको एमालेले १ मा जनता समाजवादी पार्टीका उम्मेदवार भवतराम चौधरी उम्मेदवारलाई सघाउँदै छ । गठबन्धनबाट प्रदेश सभा १ मा माओवादीका दीर्घ बिनाडी र २ मा काँग्रेस नेता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावल उम्मेदवार बनेका छन् ।

स्थानीय तहको निर्वाचनमा कुन पार्टीको कति मत ?    

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले सबैभन्दा बढी मत पाएको छ । यद्यपि काँग्रेस र माओवादीको मत जोड्दा गठबन्धन थोरै मतले अगाडि देखिन्छ । यो क्षेत्रमा वडाध्यक्षमा नागरिक उन्मुक्तिले १७ हजार १९३ मत पाएको थियो । त्यस्तै काँग्रेसले ११ हजार ६४२, एमालेले १० हजार ३३२, माओवादीले छ हजार ९५७, राप्रपाले चार हजार छ, जनता समाजवादी पार्टीले दुई हजार ३०२ र एकीकृत समाजवादीले दुई हजार २३२ पाएका थिए । देशभर धेरै ठाउँमा एमालेलाई सघाएको राप्रपाले यहाँ भने आफ्नो उम्मेदवारी दिएको छ ।

वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यहाँ नागरिक उन्मुक्ति र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुनेछ । यद्यपि उम्मेदवारको व्यक्तित्व, जातीय, क्षेत्रीय आदि कारणले निर्वाचन परिणाम प्रभावित हुनेछ । क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका तथा भजनीका दुई वडा र जानकी गाउँपालिकाका पाँच वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा टीकापुरमा उपमेयरबाहेक यी सबै तहको प्रमुख र उपप्रमुख नागरिक उन्मुक्तिले जितेको थियो।
 
यद्यपि अहिले टिकट वितरणप्रति केही नेताहरु असन्तुष्ट हुनुले पनि नागरिक उन्मुक्तिलाई निर्वाचनमा केही असर पर्ने देखिन्छ । रञ्जिता स्थानीय तहमा जस्तै यो निर्वाचनमा पनि रेशमको विरासत जोगाउन आफू सक्षम रहेको दावी गर्छिन् । ‘थारु र पिछडिएको अन्य समुदायको हितमा हामीले उठाएका मुद्धाप्रति जनताको साथ र भरोसा पाएका छौँ ।’ उनले भनिन् । 

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका रावल भने संघ र प्रदेश दुवैतिर गठबन्धन स्पष्ट रुपमा अगाडि रहेको दावी गर्छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन नमिल्नु र केही व्यवस्थापकीय कमजोरीले प्रमुख र उपप्रमुखमा पराजय व्यहोर्नु परेको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर अहिले गठबन्धन एकताबद्ध र बलियो बनेको बताए । ‘बाहिर हल्ला चलाइएजस्तो कुनै पार्टी विशेषको एकलौटी यहाँ छैन । स्थानीय तहको मत हेर्दा पनि गठबन्धन स्पष्ट रुपमा अगाडि छ ।’ रावलले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन नमिल्दा केही समस्या भएको हो । अहिले हामी एकताबद्ध छौँ ।’

नागरिक उन्मुक्तिप्रति लक्षित गर्दै उनले भावनासँग खेलेर राजनीति नहुने बताए । भावनासँग खेलेर राजनीति गर्नेलाई अब जनताले विश्वास नगर्ने उनको भनाइ छ । ‘स्थानीय तहको चुनावमा फरक अवस्था थियो । अब भावनासँग खेलेर मत लिन खोज्नेलाई मतदाताले विश्वास गर्दैनन् ।’ रावलले भने, ‘अघिल्लो निर्वाचनजस्तो कुनै व्यक्ति र पार्टी विशेषप्रति मतदाताको क्रेज छैन ।’ थारु समुदायलाई लिएर जातिगत राजनीति गरेको आरोप नागरिक उन्मुक्तिलाई लाग्ने गरेको छ ।
 
पछिल्लो समय पार्टीको सांगठनिक अवस्था यो क्षेत्रमा बलियो बनेको र जसपाको पनि केही प्रभाव रहेकाले एमाले प्रतिस्पर्धामा अगाडि रहेको उक्त पार्टीका नेताहरुको भनाइ छ । २०७४ को निर्वाचनमा रेशम ३४ हजार ३१४ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी वाम गठबन्धनबाट एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत पाएकी थिइन् ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x