सुदूरपश्चिम

कैलाली–५ : राना र पन्तका लागि स्वतन्त्रका ओझा ‘टाउको दुखाइ’

दीपक उपाध्याय |
कात्तिक १६, २०७९ बुधबार १६:२३ बजे

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ सधै चर्चामा रहने गर्दछ । २०७० को निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचन लडेका वर्तमान प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले डडेल्धुरा रोज्दै कैलाली छोडेपछि सो क्षेत्रबाट हालका स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझालाई देउवाले उम्मेदवार मात्रै बनाएनन्, उनलाई जिताए आफूले नै जितेसरह हुनै भन्दै चुनावी प्रचारमै खटिए । उक्त निर्वाचनमा ओझा विजयी समेत भए ।

विजयी भएपछि ओझा पुनः २०७४ को निर्वाचनमा आकांक्षी थिए । तर, देउवाले ओझालाई टिकट नदिई पत्नी डाक्टर आराजु राणा देउवालाई टिकट दिए । तर, उक्त निर्वाचनमा राणा पराजित भईन् । राणालाई नेकपा एमालेका नारदमुनी रानाले पराजित गरे । ओझालाई राणालाई चुनावमा असहयोग गरेको भन्दै देउवाले पार्टीबाट मात्रै निष्कासन गरेनन् । साधारण सदस्य समेत नरहने गरी कारवाही गरे । त्यसपश्चात प्रायः राजनीतिक गतिविधिमा कतै नदेखिएका ओझा अहिलेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका छन् । 


अघिल्लोपटक प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा रहेका नेकपा एमालेका उम्मेदवार राना यसपटक पनि कैलाली–५ मा मैदानमा छन् ।

रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भएपनि अन्तिम समयमा उनी समानुपातिकमा बसिन् । गठबन्धनको तर्फबाट ०७४ को प्रदेशसभामा विजयी भएका डिल्लीराज पन्त अहिले प्रतिनिधि सभामा उम्मेदवार छन् । कैलाली–५ मा एमालेका राना र गठबन्धनको तर्फबाट पन्तको मात्रै प्रतिस्पर्धा छैन । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली–६ छोडेपछि भएको उपनिर्वाचनमा विजयी कांग्रेसका ओझा पनि यहाँ उम्मेदवार छन् । कांग्रेसबाट कारबाहीमा परेका ओझा अहिले यहाँ स्वतन्त्र उम्मेदवार हुन् । यहाँ राना–पन्त–ओझाको त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिकाको ६ र ९ गरी २ वडा समेटिएको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमालेले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।

अघिल्लो पटकको निर्वाचनमा राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । ‘मेरो उम्मेदवारी धनगढीको ‘डिग्नीटी’ का लागि हो, –ओझाले भने, ‘धनगढी बनाउनुपर्छ भनेर हो, कसैले मनपरी गर्न नपाओस् भनेर हो ।’

अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभामा विजयी भएका पन्त आफूले अझै काम गर्ने गरी प्रतिनिधिसभाको उम्मेदवार भएको बताउँछन् । पन्त भन्छन्, ‘यहाँको गठबन्धनको मत र विगतमा प्रदेशसभा सदस्य हुँदा गरेको काम नै मेरो जित्ने आधार हो ।’

अहिले प्रतिनिधिसभातर्फको गठबन्धनको उम्मेदवार बनेका पन्त र स्वतन्त्र उम्मेदवार बनेका ओझाबीचको प्रतिस्पर्धाले एमाले उम्मेदवार रानालाई सहज हुने देखिएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि धनगढी उपमहानरपालिकाको उपप्रमुखमा गठबन्धनको उम्मेदवार शान्ति अधिकारी र स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीका कारण एमाले उम्मेदवार नन्दकला राना विजयी भएको विश्लेषण गरिन्छ ।

यता, राना भने आफूले गरेको कामबाट जनता प्रभावित भएको र त्यही नै जितको आधार भएको दाबी गर्छन् । ‘धनगढी विमानस्थल, कैलालीको गौरीफन्टा नाका, धनगढी–खुटिया सडक, हुलाकी राजमार्गजस्ता विकास निर्माणका काममा खटिएको जनताले देखेका छन्, मेरो जित्ने आधार त्यही हो,’ रानाले भने । उनले राना थारु समुदायलाई आदिवासीमा सूचीकृत गराउन पनि आफूले भूमिका निर्वाह गरेको बताए ।

तर, तिनै मध्येका केही रानाथारुहरु भने रानाबाट रुष्ट छन् । सत्तामा पुगेपछि आफ्नो क्षेत्र र समुदायको लागि खासै उल्लेख्य काम केही पनि नगरेको भन्दै उनीहरुले आफ्ना आसेपासेलाई मात्रै रानाले महत्व दिएको बताएका छन् । यस पटकको निर्वाचनमा आफ्नालाई भन्दापनि हाम्रा समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने उनीहरुले बताए।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x