सुदूरपश्चिम

नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवै उम्मेदवारलाई बहुमत पुर्‍याउन सकस

सुदूरपश्चिममा सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिँदै, शोक बिदामा पनि बैठक बस्‍ने तयारी

दीपक उपाध्याय |
माघ २, २०७९ सोमबार १०:१४ बजे

कैलाली - सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्न बैठक बस्ने तयारी भैरहेको छ । यसअघि दुई पटकसम्म बहुमत पुर्‍याउन नसकेर सभामुख निर्वाचन हुन नसकेको सुदूरपश्चिम प्रदेशमा आज पुन सभामुख निर्वाचन सकेर उपसभामुखको पनि निर्वाचन गर्नु पर्ने बाध्यता छ । 

सुदूरपश्चिममा सभामुख र उपसभामुख चयनका लागि संविधानले दिएको समय सीमा आज सकिंदैछ । पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता छ ।


संविधानको धारा १८२ को उपधारा (१) अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । सो अनुसार सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिंदैछ ।

कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । यसअघि माघ २८ र ३० गते भएको निर्वाचनमा दुवैले बहुमत ल्याउन सकेका थिएनन् । 

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

पार्टीले मुख्यमन्त्रीलाई मात्र समर्थन गरेका बताउदै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका सदस्य लक्ष्मण किशोर चौधरीले सहमति र छलफलविना दुई जना मन्त्री नियुक्त गरेको भन्दै असन्तुष्टि जनाउदै आएका छन् । 

उनले रेशम चौधरी रिहाइ नभएसम्म सभामुख चयन प्रक्रियामा साथ नदिने समेत स्पष्ट पारे ।'सङ्घीय सरकारले हामीलाई माघीमा रेशम चौधरीलाई कारागारबाट छुटाएर माघीको उपहार दिने प्रतिबद्धता गरे,' चौधरीले भने, 'हामीलाई त्यसमा पनि झुक्याइयो । हाम्रो पहिलो माग रेशम चौधरीको रिहाइ हो । रिहाइ नभएसम्म हामी सरकारमा पनि सहभागी हुँदैनौ । सरकारलाई समर्थन पनि गर्दैनौ ।'

नागरिक उन्मुक्तिले शनिबार सभामुख चयनका लागि भएको मतदानमा साथ नदिँदा सत्तारूढ दलहरूका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर भण्डारी चयन हुन सकेनन ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x