सुदूरपश्चिम

गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्यो : प्रधानमन्त्री

इकागज |
फागुन १, २०७९ सोमबार १४:२६ बजे

कैलाली - प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढीसकेको बताएका छन् । सोमबार सो क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदबाट निर्णय गरेसंगै विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको बताएका हुन् ।

‘यसलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय हिजो नै क्याविनेट बैठक राखेर सैद्धान्तिक निर्णय भएको छ’ उनले भने ‘अब व्यवहारिक रुपमा यसलाई मेडिकल कलेज चलाउने तिर पनि तीब्र गतिमा अगाडि जान्छ । विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडि बढीसकेको छ ।’ उनले यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञलगायतसंग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय भएको बताए ।


‘सबैभन्दा खुसीको कुरा के हो भने यो पटक मेडिकल कलेज मात्रै होइन् । यसलाई हिजो मात्रै प्रदेशका सबै जसो जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि डाक्टर, विज्ञहरुसंग छलफल गर्दा उहाँहरुको माग यसलाई गेटा मेडिकल कलेजको रुपमा त चलाउनु नै छ । संगसंगै देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा लैजानु पर्यो  भन्ने थियो’ उनले भने ‘यसलाई विश्वविद्यालय बनाउने खुसी र गर्वको कुरा हो । यो सुदूरपश्चिमको मात्रै होइन यो देशकै देशकै निम्ति गर्वको कुरा हो ।’

उनले गेटामा मेडिकल कलेज स्थापना गर्ने क्रम देखि नै आफू यससंग प्रत्यक्ष रुपमा जोडिएको बताए । ‘पहिला मेडिकल कलेज स्थापना गर्ने क्रममा पनि म प्रत्यक्ष रुपमा जोडिएको थिए । यसको बेस बन्दै गर्दा पनि मैले यसको अनुगमन गरेको थिए’ उनले भने ‘यसपटक फेरि अनुगमनमा आउँदै गर्दा मेडिकल कलेज चलाउने प्रक्रिया त अब अगाडि बढ्यो नै । यसलाई अगाडि बढाउन स्वास्थ्य संग सम्बन्धित दरबन्दीका काम छिट्टै पुरा गरिन्छ ।’

उनले आफूले प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै सुरु गरेको बताए । ‘मलाई सुदूरपश्चिममा पहिलो चोटि प्रधानमन्त्री हुँदा पनि केही काम गर्ने र सबभन्दा धेरै पटक सुदूरपश्चिममै आएर अवलोकन पनि गरेको थिए’ उनले भने ‘यसपटक पनि प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै भएको छ ।’

यस्तै आजै प्रधानमन्त्री दहालले कंचनपुरको दोधाराचाँदनीमा निर्माणको प्रक्रियामा रहेको सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका छन ।

गेटा मेडिकल कलेजको निरीक्षण पछि बन्दरगाह निरिक्षण गर्न पुगेका प्रधानमन्त्री दाहाले बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढी सकेको बताउँदै अब सुदूरपश्चिम होइन समृद्ध सुदूरपश्चिम बन्ने बताए ।


Author

थप समाचार
x