सुदूरपश्चिम

शिक्षक भर्ना प्रक्रिया कार्यान्वयन नगर्न महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी

इकागज |
असार ३१, २०८० आइतबार १७:३४ बजे

दार्चुला- दार्चुला जिल्ला अदालतले नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न विपक्षी महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार नगरपालिकाले २०८० असार २४ गते गरेको नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

निवेदक मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी समेत ३ जनाको निवेदनउपर अधिवक्ताद्वय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले गरेको बहसपछि विपक्षी महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको दार्चुला जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए । निवेदक सुन्दर सिंह धामी, दिनेश मल्ल र पुष्पराज जोशी महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । 


निवेदकहरूले अन्तरिम आदेशको माग गरेको देखिँदा सो सम्बन्धमा दुवै पक्षहरूलाई राखि छलफल गर्नु मनासिव देखिएकोले सो प्रयोजनको लागि दुवै पक्षहरूलाई छलफलका लागि २०८० साउन ३ गते उपस्थित हुन अदालतबाट आदेश भएको उनले बताए । यसअघिको स्थानीय सरकार महाकाली नगरपालिकाले सबै प्रक्रिया पूरा गरी भर्ना गरेका शिक्षकहरूको पुनः परीक्षा लिनु पर्ने कारण के हो ? लगायतका विषयहरू उल्लेख गरी असार २९ मा दार्चुला जिल्ला अदालतमा निवेदन परेको थियो । 

महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह (कक्षा ६–८) र माध्यमिक तह (कक्षा ९–१०) मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । 

नगरपालिकास्थित सामुदायिक विद्यालयमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा ३३ जना नगर शिक्षक भर्ना गर्न उक्त विज्ञापन गरिएको हो । आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरिएको थियो ।


Author

थप समाचार
x