सुदूरपश्चिम

धमाधम बन्द हुन थाले कैलालीका उद्योगहरू

इकागज |
असोज १४, २०८० आइतबार १२:९ बजे

कैलाली । सुदूरपश्चिमकै व्यापारिक तथा औद्योगिक ‘हब’ का रूपमा रहेको कैलालीमा स्थापना भएका उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । सुदूरपश्चिममै ठूलो लगानी रहेको उद्योगमध्येको एक कैलालीको लम्कीस्थित डल्फिन ग्रुपले पनि आफ्ना आठ वटा उत्पादनलाई बन्द गरेको छ । 

तीन वर्षयता गत असारसम्म यहाँका ५ सय ५० उद्योग बन्द भएको  घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख कमल प्रसाद ओझाले बताए। उनले गत आर्थिक वर्षमा मात्रै २ सय ३२ उद्योगीले व्यवसाय दर्ता खारेजी गराएको बताए । 


कैलालीमा आर्थिक वर्ष ०७८/०७९ मा १ सय ७५, ०७९/८० मा २ सय ३२ र ०७७/७८ मा १ सय ४० वटा उद्योग बन्द भएको कार्यालय प्रमुख ओझाले बताए । उनले बन्द हुनेमा कृषि क्षेत्रका, उत्पादनमूलक, सेवामूलक, होटल तथा पर्यटन उद्योगहरु रहेको बताए । ब्यबसायीहरुले उद्योग दर्ता खारेजी फाराममा धेरैजसो उद्योग बन्द गर्नुको कारण आर्थिक मन्दी, कच्चा पदार्थ अभावलगायतका कारणले उद्योग सञ्चालनलाई निरन्तरता दिन नसकेको उल्लेख गरेको प्रमुख ओझाले बताए ।

हालसम्म कैलालीमा साढे २३ अर्बका साढे १४ हजार साना उद्योग सञ्चालनमा रहेको तथ्यांक छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार २३ अर्ब ४३ करोड ४७ लाख लगानी छ । ती उद्योगले ७६ हजार बढीको संख्यामा रोजगारी सिर्जना गरेका थिए । कार्यालयकै अध्ययनअनुसार कैलालीका उत्पादनमूलक उद्योगले सबैभन्दा बढी २९ हजार ३ सय १४ जनालाई रोजगारी दिएको कार्यालय प्रमुख ओझाले बताए ।

कृषिमूलक उद्योग क्षेत्रमा २० हजार ८ सय ६९ जनाले रोजगारी पाएको उनले बताए । कृषि क्षेत्रका उद्योग ६ हजार १ सय ३५, सेवामूलक क्षेत्रका ५ हजार ३ सय ८५, उत्पादनमूलक ३ हजार ८७ छन् । प्रदेशकै व्यापारिक तथा औद्योगिक ‘हब’ भएकाले सात पहाडी जिल्लाको खाद्यान्नलगायत सामग्रीको खरिद केन्द्र पनि कैलाली हो । तर यहाँकै उद्योगहरू पछिल्लो समय धमाधम बन्द र विस्थापन हुनुले संकट निम्तिएको व्यवसायीहरू बताउँछन् ।

कैलालीमा सञ्चालन हुँदै आएको देउती गुट्खा प्याकेजिङ उद्योग, २० वर्षदेखि लम्कीमा सञ्चालन हुँदै आएको डल्फिन ग्रुपले आफ्ना आठवटा उत्पादन हटाएर नेपालगन्ज लगेको छ । डल्फिनले चामल, दाना, आँटा, भुजालगायत आठवटा उत्पादनलाई यहाँबाट हटाएको जनाएको छ ।  

उद्योगहरू बन्द तथा विस्थापित हुँदा पुँजी स्थानान्तरण मात्रै हैन स्थानीय रोजगारी पनि गुमिरहेको प्रति चिन्ता व्यक्त गर्दै उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको उद्योग व्यवसाय क्षेत्र कसरी माथि उठाउने भन्ने चिन्ता रहेको बताए । 

उनले हाल सञ्चालनमा रहेका उद्योगहरुलाई समेत बेलाबेलामा कच्चापदार्थ, दक्ष जनशक्ति लगायतको अभाव भैरहेको बताउदै कैलाली केन्द्रित विभिन्न पार्टीका कार्यक्रममा चन्दा समेत दिनु पर्दा समस्या रहेको बताए । 


Author

थप समाचार
x