सूचना-प्रवधि

कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

इकागज |
माघ २३, २०७८ आइतबार ९:१० बजे

फाइल फाेटाे

मार्तडी - कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा जिल्लाको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । 

 हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिए । 


सो क्षेत्रमा क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ ।  “सामान्य बादल लाग्नेबित्तिकै टावर गइहाल्छ, यसपटक तीन दिनसम्म लगातार हिमपात भएकाले टावर आउने कुरै रहेन”, कोल्टीका व्यापारी जनम धामीले भने। समस्या समाधानका लागि यहाँका स्थानीय तह र  टेलिकमले ध्यान नदिएको स्थानीयवासीले आरोप  लगाएका छन् । 

कोल्टी क्षेत्र सम्पर्कविहीन बनेपछि स्थानीयवासीको दैनिकीसमेत प्रभावित भएको छ । बडिमालिका नगरपालिका स्थित कालाजग्रमा रहेको  टेलिकमको रिपिटर टावरले पनि हिमपातका कारण काम गर्न छाडेको  छ । 

टेलिकमका सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारमाध्यम तथा बैंकको सेवा अवरुद्ध हुन पुगेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताएका छन् । 

हिमपातका कारण बाजुरालगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ । बाजुराको टेलिफोन मर्मतका लागि प्राविधिकको समस्या रहेको टेलिकम सुदूरपश्चिम प्रदेश प्रमुख नामाकरण न्यौपानेले बताए । हवाई सेवा सुरु भए प्राविधिक पठाउने उनले जानकारी दिए । 

हिमपात हुने बित्तिकै सुदूरपश्चिम प्रदेशका  पहाडी जिल्लामा टेलिकमको टेलिफोन सेवा अवरुद्ध हुने गर्दछ  । गत बिहीबारुको हिमपातले बाजुरा सहित अछाम र बझाङमा टेलिफोन सेवा अवरुद्ध रहेको जनाइएको छ । रासस
 


Author

थप समाचार
x