समाज

यी वडाअध्यक्ष जाे पदभार लगत्तै गाउँकाे विकासका लागि श्रमदानमा खटिए

इकागज |
जेठ ७, २०७९ शनिबार १८:५४ बजे

सिन्धुपाल्चोक - स्थानीय तह निर्वाचनपछि विजयी भएपछि यहाँका एक वडाअध्यक्ष गाउँकाे विकासका लागि आफै श्रमदानमा खटिएका छन् । सिन्धुपाल्चोकको चाैतारा साँगाचाेकगढी नगरपालिका-११ का नवनिर्वाचित अध्यक्ष राेशनराज गिरी आफै सडक स्तराेन्नतिमा जुटेकाे हुन् । 

हिजाे(शुक्रबार) मात्रै उनले पदभार  ग्रहण गरेका थिए । पदभार गरेलगत्तै उनी गाउँकाे विकासमा खछेका हुन् । गाउँका युवासमेतलाई जुटाई उनले चाैतारा-काठमाडौं सडक छुने स्थानीय कटुञ्जे-नर्सरी सडककाे नाली मर्मत तथा स्तराेन्नतिका लागि श्रमदान सुरू गरेका हुन् । उनकाे अगुवाईमा ५० बढी स्थानीय श्रममा जुटेका छन् ।


झरी हुने वित्तिक्कै भलले सडक विगार्न थालेकाे थियाे । सडक बिग्रेकै कारण सवारी आवागमनमा समस्या हुनुका साथै सामान ढुवानीमा अवराेध हुन थालेपछि सडक मर्मत सुरू गरिएकाे वडाअध्यक्ष गिरीले बताए । हरेक महिनाको अन्तिम शनिबार, श्रमदानको संस्कार भन्ने अभियान सुरू गरेर आजबाट यस्ताे कार्य सुरू गरिएकाे उनकाे भनाइ छ । 

श्रमदानले विकास निर्माणमा स्थानीयमा अपनत्वको अनुभूति हुनका साथै सानातिना विकासनिर्माण लागि सरकारकै मुख ताक्ने प्रृवित्तिको पनि अन्त्य गर्ने अभियानमा समेत रहेकाे उनले बताए । 

याे गाउँमा गिरी समाजसेवीका रूपमा चिनिन्छन् ।  यसअघि सर्वसाधारणकाे हैसियत हुँदा पनि उनकाे अगुवाईमा काकाकुल गाउँवासीका लागि एक  एक धाराकाे अभियान सञ्चालन गरेका थिए । सरकारकाे भर नपरी आफ्नाे गाउँकाे विकासका लागि आफै खट्दै काम गर्न सकिन्छ भनेर हरेक शनिबार कम्तिमा १ घण्टा युवाहरूबाट श्रम हुने उनले जानकारी दिए ।

यहाँ केही वर्ष पहिलासम्म गाउँमा विकास निर्माणका लागि श्रमदानको महत्वपूर्ण भूमिका रहने गथ्र्यो । बाटाघाटा निर्माण लगायतका पूर्वाधार विकासको काममा स्थानीयहरु लामवद्ध नै हुने चलन थियो भने पछिल्लो केही वर्षयता भने श्रमदानको संस्कार हराउँदै गएको छ । जसले गर्दा पूर्वाधारको विकासमा स्थानीयहरुको प्रत्यक्ष सहभागिता नहुनका साथै विकास निर्माणमा अपनत्व पनि हराउँदै गइरहेको छ । यसलाई निरन्तरता दिनका लागि पहलकदमी लिएकाे अध्यक्ष गिरी बताउँछन् ।

गिरी अघिल्लाे स्थानीय तहकाे निर्वाचनमा चाैतारा साँगाचाेकगढी नगरपालिकामा स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएका थिए ।  त्यतिबेला सम्मानजनक मत प्राप्त गरेका गिरी यसपटक सुरूमा आफ्नै गाउँकाे विकास गर्ने भन्दै वडाअध्यक्षमा उठेका थिए । उनलाई अत्याधिक मतका साथ गाउँवासीले जिताएका हुन् ।

अध्यक्ष गिरीले गाउँकाे विकासका लागि यसअघि पनि धेरै कामहरू गरेका छन् । उनले स्कुल कलेज तथा उनकाे आफ्नै वडाकाे कार्यालयलाई भवन निर्माण गर्न जग्गा दान समेत गरेका थिए ।  गाउँमा मन्दिर निर्माण, नेपाल तिब्बत लडाई गर्दा प्रयाेग गरिएकाे एेतिहासिक सागाँचोक गढी को खोज अध्ययन गरेका थिए । साथै गाउँमा शैक्षिक सुधारका लागि विभिन्न अभियान सञ्चालन गर्नका साथै काभ्रे र सिन्धुपाल्चोककाे सीमा विवादका लागि समस्या सुल्झाउन विभिन्न प्रमाणसहित महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


Author

थप समाचार
x